चितवन । जिल्लामा प्रदेश सरकारबाट प्राप्त बजेट न्यून मात्र खर्च भएको छ । चालू आर्थिक वर्षको ११ महीना पूरा हुँदा पुँजीगत खर्च २६ दशमलव ३७ प्रतिशत मात्र भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरले दिएको जानकारीअनुसार जिल्लामा पूँजीगततर्फ एक अर्ब ८८ करोड २४ लाख आएकामा जेठ मसान्तसम्ममा ४९ करोड ६३ लाख ६८ हजार मात्र खर्च भएको हो । चालूतर्फ ४२ करोड दुई लाख ५७ हजार आएकामा २१ करोड ६४ लाख रुपैयाँ मात्र खर्च भएको छ ।
कार्यालयका सूचना अधिकारी कृष्ण अधिकारीका अनुसार पहिलो चौमासिकको उत्तरार्धमा बजेट आएको र संस्थागत संरचना एवं ठेक्का व्यवस्थापन ढिला भएकाले बजेट खर्च कम भएको हो । प्रदेशसभा सदस्य विजय सुवेदीले कार्यालय मङ्सिरमा खुलेका, ताकेता पुर्याउन नसकिएको र स्थानीय सरकारको चासो कम पुगेकाले बजेट खर्च हुन नसकेको बताए ।
अर्का प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठले प्रदेशसभा सदस्यलाई एक करोडका दरले विनियोजन गरिएको विकास बजेटबाहेक अन्य खर्च निकै कम भएको जानकारी दिए । सङ्घ, प्रदेश र स्थानीय सरकारबीच तालमेलको कमीले पनि बजेट खर्चमा कमी आएको श्रेष्ठको ठम्याइ छ ।
प्रदेशतर्फ जेठ मसान्तसम्म ५० करोड छ लाख ३७ हजार राजस्व सङ्कलन भएको छ । यस्तै सङ्घीय बजेटमा पनि अपेक्षाकृत खर्च हुन सकेको छैन । अधिकारीका अनुसार जिल्लामा जेठ मसान्तसम्मको पूँजीगततर्फ कूल बजेट रु आठ अर्ब ७९ करोड ८८ लाख ७५ हजार विनियोजन भएको थियो ।
उक्त आँकडामा पूँजीगत रु चार अर्ब ३८ करोड ४१ लाख ८९ हजारमध्ये रु दुई अर्ब २८ करोड ५६ लाख ८५ हजार मात्र खर्च भएको छ । यो पूँजीगत खर्चको ५२ दशमलव १३ प्रतिशत हो । त्यस्तै चालूतर्फ सात अर्ब ७७ करोड ७० लाख ६७ हजार मध्ये ८८ दशमलव ३९ प्रतिशत खर्च भएको छ ।
सङ्घतर्फ जेठ मसान्तसम्म २८ अर्ब २३ करोड ५५ लाख १३ हजार राजस्व सङ्कलन भएको अधिकारीले जानकारी दिए ।