काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले क्लिनफिडको विषयमा झूटको खेती गरेको नेपाल केबल व्यवसायी महासंघले आरोप लगाएको छ ।
दक्षिण एसियाका विभिन्न मुलुकमा क्लिनफिड टेलिभिजन च्यानलहरु चलिरहेको तर मन्त्रालयले विनाअध्ययन हचुवाको भरमा सरोकारवालासँग छलफल नै नगरी ऐन ल्याएको महासंघको भनाइ छ ।
यसैबीच नेपाल केबल व्यवसायी महासंघले सोमबार दिउँसो तीन बजेदेखि मंगलबार तीन बजेसम्म सम्पूर्ण विदेशी च्यानल नेपालमा प्रशारण बन्द गरेको छ । सरकारले विज्ञापन ऐनबाट लागू गरेको क्लिनफिडको परिणामलाई डेमोको रुपमा देखाउन र श्रोता प्रतिक्रिया लिनका लागि च्यानल नै बन्द गरेको महासंघले जनाएको छ ।
सरकारले विज्ञापन रहित विदेशी च्यानल मात्र प्रशारण गर्न अधिकार दिने भएपछि केबलबाट प्रशारण हुने ८० प्रतिशत च्यानलहरु बन्द हुने महासंघको भनाई छ । भारतीय ब्रोडकास्ट फोरमले क्लिनफिडयुक्त च्यानल नेपाली बजारका लागि मात्र पठाउन नसकिने परिपत्र यसअघि नै मन्त्रालयलाई गरिसकेको छ तर, सरकारले भने विनाअध्ययन यस्तो ऐन ल्याएर केबल व्यवासायीहरुको करोडौं रुपयाँको लगानी र व्यवसायलाई धरापमा पारेको महासंघका अध्यक्ष सुधिर पराजुलीले बताए ।
राष्ट्रिय प्रशारणमा हुनुपर्ने कुरालाई चोरबाटोबाट विज्ञापन ऐनमा ल्याइएको पराजुलीको आरोप छ । सरकारको यस्तो कदमबाट ५० हजारको रोजगारी, करोडौंको राजस्व र विभिन्न नेपाली टेलिभिजनको भविष्य पनि अन्यौलमा पर्ने महासंघका कार्यकारी निर्देशक राधेश्याम अधिकारीले बताए ।
करोडौंको लगानी गरेर एनालग सिस्टमबाट डिजिटल सिस्टममा प्रवेश गरेको केबल व्यवसाय सरकारको यस्तो कदमबाट डुब्ने भन्दै अधिकारीले अब महासंघले तालाचाबी सरकारलाई बुझाउनुको विकल्प नरहेको बताए ।
केबल व्यवसाय नै धरापमा परेपछि विदेशी च्यानल हेर्न सेवाग्राहीले विदेशी डीटीएचको प्रयोग गर्ने र अवैध चोरी निकासी बढ्ने साथै ती डीटीएचबाट नेपाली च्यानल पनि प्रशारण नहुने र त्यहाँको सामाग्री प्रशारण नियन्त्रण सरकार अन्तर्गत नहुने हुँदा देशको सुरक्षामा नै खत्रा हुने पराजुलीले बताए ।