काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले दुधकोशी जलासय विद्युत आयोजनामा लगानी गर्न चीनलाई आग्रह गरेका छन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ताका क्रममा ऊर्जामन्त्री पुनले यस्तो आग्रह गरेका हुन् ।
विश्व बैङ्कले ५० अर्ब रुपैयाँ मात्र लगानी गर्ने प्रतिवद्धता जनाएको भन्दै उनले सो आयोजना सम्पन्न गर्न थप २ खर्ब रुपैयाँ अपुग भएकोले सहयोगका लागि पहल गरिदिन आग्रह गरेका हुन ।
भेटमा मन्त्री पुनले सरकारले उर्जा क्षेत्रको विकास र बजार विस्तारको लागि पहल गरिरहेको भन्दै चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीको लागी पहल गरिदिन आग्रह गरेका थिए । उनले सरकारले जलविद्युतको लागी भारत र वंगलादेशमा बजारको लागी पहल जारी राखेको जानकारी समेत दिए ।
‘नेपालमा जलविद्युत क्षेत्रमा नयां सम्भावना छ, लगानी र बजार विस्तारका लागी हामी पहल गरिरहेका छौं, भारत र वङगलादेशसंग समेत यस बारेमा छलफल भइरहेको छ । यसमा चिनियां लगानीकर्ताको सकरात्मक सहयोग आवश्यक छ ।’ मन्त्री पुनले भने ।
चिनियां लगानीकर्ता र निर्माण कम्पनीहरुले चीन र विश्वका धेरै देशमा राम्रो काम गरिरहेको भन्दै मन्त्री पुनले नेपालमा आयोजना सम्पन्न गर्न नसक्नुको पछाडीको कारणबारे पनि जिज्ञासा राखेका थिए । जवाफमा राजदूत यान्छीले चिनियां कम्पनीले भोगेका समस्याहरुको बारेमा जानकारी दिंदै त्यस बारेमा आफुले पनि गहिरो अध्ययन र अनुसन्धान गरिरहेको बताइन ।
मन्त्री पुनले राजदूतसंगको भेटमा भने ‘चीन र अन्य विश्वमा राम्रो काम गरिहेका छन् । यहां किन गर्न सकिरहेका छैनन् । समस्या के हो जस्का कारण काममा ढिलाई भइरहेको छ, हामी पनि यसमा छलफल गरिरहेका छौं, हाम्रो कारणले हो भने हामी हाम्रो प्रणाली सुधार गर्छौ । ’