काठमाडौं । कर्मचारी सञ्चय कोषले आफनो ऋण लगानीमा निर्माण भइरहेका ५ ओटा जलविद्युत् आयोजनाको ब्याजदर घटाउने भएको छ ।
सञ्चय कोषले ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोसी, ४२ मेगावाटको तल्लो सान्जेन र १४ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको ब्याजदर घटाउने तयारी गरेको हो । ५ ओटा आयोजनाको जडित क्षमता ८२६ मेगावाट छ । यी आयोजना निर्माणको अन्तिम चरणमा छन् । सार्वजनिक तथा निजी साझेदारीमा यी आयोजना निर्माण सुरु भएका हुन् ।
कोषले समिति गठन गरी ब्याजदर पुनरवलोकनको काम सुरु गरेको छ । यसअघि १२ प्रतिशत ब्याजदर तय गरेकोमा सञ्चय कोषले १ प्रतिशत घटाएर ११ प्रतिशत कायम गरेको थियो । आगामी वर्षदेखि ०.५ प्रतिशतसम्म घटाएर १०.५ प्रतिशतमा झार्ने कोषको तयारी छ । उनले ब्याजदर पुनरवलोकन हुने बताउँदै अहिले छलफलको क्रममा रहेकाले कति घट्ने भन्न सकिने अवस्था नरहेको कोषका प्रशासक तुलसी गौतलमे क्यापिटल नेपाललाई बताए । ‘समितिबाट प्रस्ताव आएपछि सञ्चालक समितिमा पेस हुने उनले बताए । अहिले छलफल भइरहेका छ, निष्कर्षमा पुगिएको छैन,’ उनले भने ।
कोषले सबै आयोजनालाई एउटै ब्याजदर निर्धारण गरेको छ । माथिल्लो तामाकोसीसँग १२ प्रतिशत ब्याजदरमा ऋण सम्झौता गरे पनि कोष आफैंले घटाउँदै आएको छ । ब्याजदर कम भएमा आयोजनाको लागत कम हुने छ । धेरै ब्याज नलिने मनस्थितिमा कोष व्यवस्थापन पुगेको छ ।
कोषले आउँदो असारको तेस्रो सातासम्म आगामी आर्थिक वर्षका लागि जलविद्युत् आयोजना, सञ्चयकर्ताबाट लिने र सञ्चयकर्तालाई दिने दुवैको नयाँ ब्याजदर तय गर्दै छ । कोषले ब्याजदर अन्तर घटाएर १ प्रतिशतसम्म पुर्याउने भएको छ । कर्जा दिँदा १.२५ र कोषले दिने ब्याजदर अन्तर १.७५ प्रतिशत छ ।
माथिल्लो तामाकोसी, रसुवागढी, तल्लो र माथिल्लो सान्जेन आयोजना आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने लक्ष्य लिइएको छ । मध्य भोटेकोसी केही ढिलाइ हुनेछ । आयोजनामा सञ्चय कोषका अतिरिक्त नागरिक लगानी कोष, नेपाल टेलिकम र राष्ट्रिय बीमा संस्थानको समेत लगानी छ । माथिल्लो तामाकोसीको ब्याजदर मात्र २० अर्ब रुपैयाँ पुगिसकेको छ । निर्माण अवधिको ब्याजदर पुँजीकरण हुन्छ ।