धनगढी । धनगढीको मोहनापुलदेखि अत्तरिया चोकसम्मको ‘छ लेन’को सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने दुई वर्षको अवधिमा ४२ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
सडक आयोजनाका प्रमुख होमबहादुर एसीले निर्माण सम्पन्न गरिसक्नुपर्ने समय दुई वर्षको अवधिमा भौतिक प्रगति करिब ४२ प्रतिशत र वित्तीय प्रगति ३१ प्रतिशत भएको जानकारी दिए । निर्माण कम्पनीसँग दुई वर्षमा उक्त सडक निर्माण सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । धनगढीदेखि अत्तरियासम्मको १४ किलोमिटर लामो सडकमध्ये सहरी क्षेत्रमा छ लेन र ग्रमीण क्षेत्रमा चार लेनको सडक निर्माण गर्ने कार्य भइरहेको छ ।
सडक क्षेत्रभित्र बनाइएका घरलगायतका संरचना भत्काउने विषयमा सुरुको अवस्थामा विवाद उत्पन्न भएपछि यो सडक निर्माणकार्य अघि बढाउन ढिलाइ भएको थियो । यस बाहेक साविकको सडक क्षेत्रमा रहेका रुख कटानीमा भएको ढिलाईका साथै गाडिएका बिजुलीका खम्बा सार्नमा भएको ढिलाइले पनि समयमै काम गर्न ढिलाइ भएको थियो ।
निर्माण पूरा गरिसक्नुपर्ने दुई वर्षको अवधि सकिएपछि निर्माण कम्पनीले १५ देखि १८ महिनासम्म निर्माणको अवधि थप्न आग्रह गरेका छन् । निर्माण पूरा गरिसक्नुपर्ने अवधि गत जेठमा सकिएसँगै निर्माण कार्य निकै सुस्त भएको छ । यद्यपि आयोजना कार्यालयका प्रमुख एसीले निर्माण सुस्त नभएको दाबी गरेका छन् ।
तीन प्याकेजमा निर्माण भइरहेको सडकको निर्माणमा लुम्बिनी राजेन्द्र डाँफे, लामा राजेन्द्र डाँफे र शर्मा अमर नागार्जुन निर्माण कम्पनी संलग्न छन् । “निर्माण व्यवसायीले समय थप्न आग्रह गरेका छन्”, आयोजना प्रमुख एसीले भने, “आवश्यक छानबिन गरेर निर्माणको अवधि थप्नका लागि पहल भइरहेको छ ।” सडक निर्माण कार्य सुस्तगतिमा हुँदा गर्मीयाममा सडक धुलाम्य भएर आवागमन गर्दा सास्ती खेपेका सर्वसाधारणले वर्षायाममा हिलाम्मे हुने र ठाउँ ठाउँमा डुबानको समस्या सिर्जना हुने बताएका छन् ।
सुदूरपश्चिम प्रदेशसभाको बैठकको विषेश समयमा बोल्ने सदस्यहरुले उक्त सडक निर्माणमा भइरहेको ढिलाइप्रति बारम्बार ध्यानाकर्षण गराउने गरेका छन् । तर सडक निर्माण कार्यमा तीव्रता आउन सकेको छैन । प्रदेशको राजधानी सहर धनगढी प्रवेश गर्ने एक मात्र मुख्य सडकमा दैनिक साना ठूला गरी तीन हजारभन्दा बढी यातायातका साधनको आवागमन हुने गरेको छ ।
निर्माणका क्रममा उक्त सडक खण्डका ठाउँठाउँमा पुराना पुलेसा (कल्भर्ड) भत्काएर नयाँ कल्भर्ट निर्माणाधीन रहे पनि महिनौं भइसक्दासम्म ती पुलेसाको निर्माणको काम पूरा हुनसकेको छैन । सडक आयोजना कार्यालयका प्रमुखको पटक पटकको सरुवाले कामको समयमै रेखदेख एवं निर्माणमा असर पुग्ने गरेको बताइएको छ ।
आयोजना कार्यालय सञ्चालमा आएको गत दुई वर्षमा तीन जना कार्यालय प्रमुख फेरिएकामा चौथो कार्यालय प्रमुखको रुपमा हाल एसी कार्यरत छन् । यो सडकको लागत ईष्टिमेट एक अर्ब ६८ करोड रूपैयाँको छ । धनगढी क्षेत्रमा सडक सञ्जालको विकास एवं स्तरोन्नतिका लागि पहिलो पटक यति ठूलो बजेट रकमसहित छ लेन सडक निर्माण कार्य भइरहेको हो । –सिद्धराज भट्ट/रासस