लमजुङ । लमजुङ–मनाङ आवतजावत गर्ने एक मात्र बेँसीशहर चामे सडकखण्डमा पर्ने म्यार्दीखोलामा रहेको मोटरेवल पुल बगाएपछि सवारीसाधनलाई म्यार्दीखोला बाधक बनेको छ ।
लमजुङ–मनाङको सिमानामा रहेको सो पुल आइतबारको बाढीले बगाउनुका साथै खोलामा गहिरो गल्छी बनाइदिएपछि सवारीसाधन तर्नसक्ने अवस्था छैन । पुल निर्माण हुनुअघि हिउँदमा र पानीको बहाव सानो भएको बेलामा खोलाबाटै सवारीसाधन तार्ने गरिएकामा खोलो गहिरिएकाले अहिले सवारीसाधन वारि र पारि नै रहेको बेँसीशहर चामे सडकखण्डका जिप चालक सोमबहादुर मजाकोटीले बताए ।
गत वर्षबाट निर्माण सम्पन्न गरी सवारीसाधन सञ्चालनमा आएको २४ दशमलव ३८ मिटर र नौ मिटर चौडाइको पुल बगाएको छ । पुल निर्माण हुनुअघि काठेपुलबाट समेत सवारीसाधन गुड्ने गरेको थियो ।
उक्त खोलाबाट सवारीसाधन तर्नसक्ने कुनै सम्भावना नरहेको ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रहरी जवान लालकिरण शारुले बताए ।
सवारीसाधन चल्न नसक्दा लमजुङ–मनाङ आवतजावत गर्ने यात्रुहरु मर्कामा परेका छन् । सवारीसाधनबाट च्याम्चेमा ओर्लिएर तालसम्म करीब एक घण्टा पैदल यात्रा गर्न बाध्य हुँदै आएको च्याम्चेका स्थानीयवासीको भनाइ छ ।
त्यति मात्रै नभई मनाङका स्थानीयवासी बिरामी भएर बेँसीशहर हुँदै काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा लैजानुपर्यो भने समेत समस्या हुने देखिन्छ ।
सडक सञ्चालन भएदेखि कहिले काठेपुल त कहिले खोलाबाटै सवारीसाधन तार्दै आएका चालकले यस वर्षको बर्खायामबाट सवारीसाधन पक्की पुलबाट गुडाउन पाउने सपना देखेपनि सपनामै सीमित भएको बेँसीशहर चामे सडकमा सवारी चलाउँदै आउनुभएका चालक अमर घिमिरेले गुनासो गरे ।
बेँसीशहर–चामे सडक हेर्ने सडक डिभिजन कार्यालय दमौलीका साइट इन्चार्ज सवइञ्जिनीयर ठाकुरप्रसाद भण्डारीले भने, ‘तत्काल सवारीसाधन गुड्ने कुनै सम्भावना छैन ।’ सो पुलको दुई पिलर र दायाँ भागको आठ मिटर एप्रोजरोड मात्र बाँकी रहेको उनले जानकारी दिए ।
उनीसहित काठमाडौंबाट पुगेका हुलाकी स्कूल बेलिब्रिजका डिजाइनर उद्धव रानामगरले बुधबार सो पुलको अनुगमन गरेका थिए । अस्थायीरूपमा पुलको मर्मत गरी सवारी गुड्नसमेत करीब तीन हप्ता लाग्ने इञ्जिनीयर भण्डारीको भनाइ छ ।
पुलको मर्मत कार्य केही दिनमै अघि बढाउने उहाँले जानकारी दिनुभयो । उनका अनुसार मनाङतर्फको भागमा भन्दा लमजुङतर्फको भागमा बाढीले बढी क्षति पुर्याएको छ ।
हिमालपारिको जिल्ला मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप विसं २०५१ बाट सडक डिभिजन कार्यालय दमौलीले सडक निमार्ण गर्न सुरु गरेको थियो । तर पछि द्वन्द्व काल र अन्य विभिन्न कारणले तत्कालीन नेपाली सेनाले सो सडक विसं २०५७ बाट बनाउने जिम्मा पायो ।
तत्कालीन सेनाले शान्ति प्रक्रियापछि मात्रै सडक निमार्णकार्यलाई निरन्तरता दियो । सेनाले बाँदरसमेत लड्ला जस्तो जोखिमपूर्ण भीरलाई ज्यानको बाजी राखेर सडक निमार्ण गर्न सफल भयो ।
सो सडक विसं २०६९ मा निर्माणकार्य सम्पन्न गरी सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेसँगै सञ्चालन भएदेखि दैनिक सो सडकखण्डमा ३५ सवारीसाधन चल्ने गर्दछ । लमजुङ मनाङको सिमानामा रहेको उक्त पुल बेँसीशहरबाट ३५ किलोमिटर र चामेबाट ३० किलोमिटर गरी बेँसीशहर–चामे सडक ६५ किलोमिटरको दूरी छ ।
विषेशगरी बर्खायाममा वर्षेनी उक्त दूरी पार गर्नलाई कहिले पहिरो त कहिले खोला बढेर सवारीसाधन रोकिनुपर्दा धेरै समस्या हुने गरेको सो मार्ग चलाउने चालकले बताएका छन् । रासस