काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावार लिमिटेडले प्रस्तावित ९९ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत् आयोजनामा लगानी गर्न पाउने भएको छ । माउ संस्था नेपाल विद्युत् प्राधिकरणले अपर तामाकोसीलाई लगानी गर्न दिने निर्णय गरेको छ ।
कति लगानी गर्ने स्पष्ट नभए पनि अपर तामाकोसीले तामाकोसी हाइड्रोपावर लिमिटेडले बनाउन लागेको तामाकोसी पाँचौंमा लगानी गर्न पाउने स्पष्ट भएको हो । यसअघि माथिल्लो तामाकोसी आयोजनाको मुख्य लगानीकर्ता कर्मचारी सञ्चय कोषले तामाकोसी पाँचाैं जलविद्युत् आयोजनामा लगानी गर्न दिनुपर्ने सर्त राखेको थियो । उसैको सर्तका आधारमा विद्युत् प्राधिकरणले तामाकोसी पाँचौंमा लगानी गर्न दिने भएको हो । माथिल्लो तामाकोसीको विद्युत् गृहबाट निस्कने पानीलाई बाँध नबनाई सीधै ८ किलोमिटर लामो सुरुङमार्फत लगेर दोलखाको सुरी दोभानमा निर्माण हुने विद्युत् गृहमा खसालेर ९९ मेगावाट बिजुली उत्पादन हुनेछ ।
माथिल्लो तामाकोसीलाई थप ऋण लगानी गर्ने विषयमा बसेको ऋण लगानीकर्ता र ऋणी बैठकमा तामाकोसी पाँचौं आयोजना क्याकसेड भएकाले अपर तामाकोसीलाई नै बनाउन दिनुपर्ने सर्त राखेको थियो ।
विद्युत् प्राधिकरणले तामाकोसी जलविद्युत् कम्पनी लिमिटेड स्थापना गरेर आयोजनाको काम अघि बढाएको छ । आयोजनामा एसियन इन्फ्रास्ट्रक्चर बैङ्क (एआईबी) ले १५ अर्ब रुपैयाँ ऋण लगानी गर्ने सहमति जनाएको छ ।
याे पनि हेर्नुहाेस् : सञ्चय कोषको प्रस्तावः ९९ मेगावाटको तामाकोसी पाँचौं पनि माथिल्लो तामाकोसीलाई दिउँ
एआईबीले आयोजनाको थप अध्ययन गर्न १० करोड रुपैयाँ अर्थात् ९ लाख डलर अनुदान दिएको छ । थप अध्ययनका लागि कम्पनीले परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाएको छ । आयोजना सन् २०२३ मा सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि निर्माणअघिको काम जारी छ ।
आयोजना इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्ट्र्याक्ट (ईपीसी) खाकामा बनाउने तय भएको छ । आगामी वर्षको मध्यदेखि आयोजनाको सिभिल निर्माणको काम थाल्न कम्पनीले सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरण आपूर्तिका लागि ठेकेदार चयनको काम सुरु गरेको जानकारी दिएको छ ।
आयोजनाको ६८ प्रतिशत स्वामित्व विद्युत् प्राधिकरण र ३२ प्रतिशत सर्वसाधारणको हुने गरी लगानी संरचना तयार पारिएको छ । यसमध्ये १० प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दा र बाँकी सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने योजना कम्पनीको छ ।