नाम फेरिँदै, रामकहानी उस्तै

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार १८, बुधबार,०६:३६:PM  
नाम फेरिँदै, रामकहानी उस्तै

बर्दिवास । अइती–रेबिया, सोमनी–सोमना, मङ्गली–मङ्गला, बुधनी–बुधना, बिहीनी–बिहना, शुकना–शुकनी र शनिचरा–शनिचरी....। महोत्तरी लगायतका तराईका केही जिल्लामा विकासका अवसरबाट अत्यन्त पछि परेका मुसहर जातिको बस्ती पस्दा अब पुराना शैलीका यस्ता नाउँ हराउँदै गएको भेटिन्छ । न बाहुन चाहिने न कर्मकाण्डी पुरोहितको लामो विधि । जुन बार जन्मे छोरा–छोरी, त्यही बारसँग मेल खाने गरी घरमूलीले नाउँ राख्ने चलन मुसहर जातिको पुरानै हो ।    
    

मुसहर जातिमा बारसँग मिल्ने नामका अतिरिक्त भुट्टा, बन्ठा, रैताजस्ता अन्य नाम पनि राखिन्थे तर, बस्तीका ‘मालिक’का छोराछोरीसँग मेल खाने गरी नाम राख्न भने निषेध थियो । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरका जुगला (‘युगल’को अर्थमा) सादाले आफ्नो छोराको नाउँ रोहिता राखे । बस्ती नजीककै एकजना मालिकका छोराको नाउँ ‘रोहित’ सँग मिल्ने गरी छोराको नाउँ राख्ने रहर पूरा गरे जुगलाले ।    

 

“मालिकका छोराको जस्तो ‘रोहित’ नै त राख्नु भएन नि हजुर !” जुगलाले बाल्यकालमा ‘सत्यवादी हरिश्चन्द्र’ नाटक मालिककै आँगनमा हेर्दा मन परेको ‘रोहित’ पात्रसँग छोराको नाउँ राख्ने पुरानो रहरको प्रसङ्ग कोट्याउँदै भने – “मलाई पनि छोरा जन्मेपछि त्यही नाउँ राख्ने मन थियो । मालिकको छोरा पहिले जन्मनुभयो, उहाँ (जुगलाले भनेका व्यक्ति) ले ‘रोहित’ नाउँ राखिहाल्नुभयो । अनि मैले पछि जन्मेको छोराको नाउँ रोहिता राखें ।” सामान्य आँखाले हेर्दा कथित उपल्लो जातका ‘मालिक’ र धनीमानीले घरमा आफ्ना छोराछोरीसँग रिसाउँदा हपार्ने गालीका शव्द दलितका सन्तानको प्रिय नाउँ हुने चलन बस्यो ।    
    

अहिले मुसहर बस्तीमा पछिल्ला पुस्तामा अन्य समुदाय र जातजातिका जस्तै नाउँ राख्ने चलन शुरु भएको छ । अनिल, अरुण, राम, श्याम...जस्ता छोराका नाउँ र अञ्जली, बिना, शान्ता, प्रमिला, शर्मिला जस्ता छोरीका नाउँ मुसहर बस्तीमा अब बाक्लै भेटिन थालेका छन् । तर, नाउँ राख्ने शैली फेरिए पनि बिहान उज्यालो हुनासाथ काँधमा कोदालो र हातमा खुर्पी (हातले माटो खुर्कने र खन्ने फलामे औजार) लिएर मुसा खोज्न जाने मुसहर बालबालिकाको जीवन फेरिन पाएको छैन । अहिले पनि मुसहर बस्तीका बालबालिका विद्यालय जाँदैनन् । मुसहर वस्तीका बालबालिकालाई विद्यालय पुर्याउन स्थानीय तहहरूले कुनै थप आकर्षण र नीति अख्तियार नगरेका लामो समय शिक्षण पेशामा संलग्न रहेर हाल अवकाश लिएका बर्दिवास नगरपालिका–१४ का बासिन्दा ७० वर्षीय खड्गबहादुर सिंह बताउँछन् ।

    

विसं २०६८ को जनगणनाअनुसार महोत्तरी जिल्लामा मुसहरको जनसङ्ख्या तीन हजार ३०० छ । यो सङ्ख्या बढेर अहिले पाँच हजारको हाराहारीमा भए पनि माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका मुसहरको जनसङ्ख्या १५ नाघ्न पाएको छैन । सामुदायिक माध्यमिक विद्यालयमा २९ वर्ष प्रधानाध्यापक रहेर अवकाश लिएका सिंहको भनाइमा प्रवीणता प्रमाणपत्र तह (अहिलेको कक्षा ११, १२) उत्तीर्ण गरेकाहरूको सङ्ख्या त एउटै हातको औंलामा गन्न सकिने अवस्थामा छ । सिंहका भनाइमा यसमा छोरीको गणनाको त स्थान नै छैन ।    

 

जीवन गुजाराका लागि मुख्य पेशा कृषि मजदुरी गर्ने मुसहर माटो काट्ने र टाला बोक्ने (माटो काटेर पुर्ने ठाउँमा पुर्याउन मुसहरले भारजस्तो जालीयुक्त भार काँधमा बोक्ने) काममा पोख्त मानिन्छन् । यसबाहेक ‘गिरहत’ (मुसहरले काम गर्ने घरधनीलाई गिरहत वा मालिक भन्छन्) ले लाएअह्राएअनुसार कोदालो खन्नु, हलो जोत्नु र अन्य कृषि काम गरेर पाइने ‘बनी’ (काम गरे वापत अन्नपातमा पाइने ज्याला) ले गुजारा चलाउनु नै मुसहरको दैनिकी हो ।    

 

“आफ्नो नाउँमा घरघडेरीसमेत नहुने मुसहर धन सञ्चयतिर पनि सोच्दैनन्,” मुसहर जातिबारे गहिरो अध्ययन र मुसहर उत्थानका लागि ‘भोर’ नाउँको सामाजिक संस्थाबाट सङ्गठित प्रयत्न गर्दै आएका राजकुमार महतो भन्छन् – “दैनिक ज्यालाबाट पाइने अन्नमध्ये आधा बेचेर तेलमसला किन्ने र आधा कुटाइ, पिसाइ गरेर जाउलो फाँडो खाएर जीवन धान्ने नै मुसहरको देखिने जिन्दगी हो ।” मुसहरले ज्यालाका रूपमा खासगरी धान, गहुँ पाउँछन् ।    

 

मुसहर परिवारकी घरमूली महिला लोग्ने, छोरा र घरका वयस्क पुरुष बनी गर्न हिँडेपछि छोरी र साना केटाकेटी लिएर मुसा खोज्न वा घोंगी (मुसहरले खान रुचाउने हिलेपानीमा बस्ने एकप्रकारको सानो शङ्खे कीरा) मार्न जाने गर्छन् । लोग्ने वा छोराले ल्याएको बनीको अन्नबाट पकाइएको भातवा रोटी र आफूले ल्याएको घोंगीको झोल र मुसाको चटनी वरिपरि बसेर सगोल परिवारले खाने ख्वाउने मुसहर महिलाको रमाइलो आयोजन मानिन्छ ।    

 

स्वास्थ्य, सामाजिक, आर्थिक, राजनीतिक र शैक्षिक सचेतनाको अभावले मुसहरको अवस्था यी सबै क्षेत्रमा अत्यन्त रुग्ण देखिन्छ । सानै उमेरमा (१५/१६ वर्षको हाराहारीमा) विवाह गर्ने, २४/२५ वर्ष पुगुञ्जेल पाँच/छ वटा सन्तान जन्माउने र कुपोषण एवं स्वस्थ आहार व्यवहारमा हुने हेलचेक्र्याँइले धेरैजसो जन्मदै मर्ने कुरा मुसहर जातिमा आम कुरा हो । बिरामी भएपछि स्वास्थ्य संस्थामा जाने सोचसम्म नपाइने मुसहरको उपचार भनेको झारफुक मात्र भएको मुसहरको जीवनलाई नजीकबाट नियालेका नेपाल सरकारका पूर्व प्रशासक भङ्गाहा–३ भङ्गाहा बस्तीका ७८ वर्षीय तेजनारायण सिंह थारु बताउँछन् । सानै उमेरमा गरिने भए पनि मुसहर जातिमा मागी विवाहभन्दा मायाप्रिती (प्रेम) विवाह नै बाक्लो हुने गरेको पाका उमेरका मुसहरहरू नै बताउँछन् ।    

 

सामान्यतया पाँच/सात वर्षसम्म मुसा मार्न हिँड्ने, आठ वर्षदेखि १३ वर्षसम्म बस्तीभित्रका गिरहतको गाईभैंसी चराउने र त्यसपछि भने अचेल मुसहर किशोर रोजगारीका लागि भारतको पञ्जाब, हरियाणा जस्ता ठाउँमा जाने गरेका छन् । बर्दिवास–१४ स्थित एकीकृत मुसहर नमूना बस्तीका बिल्टु सादाका अनुसार छोरीहरू भने १२/१३ वर्षसम्म घर वरिपरि बनीबुतो गर्ने र त्यसपछि विवाह गर्ने गरेका आफ्नो जाति समुदायभित्र आमचलन जस्तै बनेको छ । यद्यपि, आफ्नो बस्तीमा पछिल्ला दुई वर्षदेखि हास्य कलाकार धुर्मुस–सुन्तलीको प्रेरणाले विवाह गर्ने उमेर बढ्नाका साथै साना नानीहरु विद्यालय पनि जान थालेका बिल्टुले बताए । समाजशास्त्री भङ्गाहा–३ का बासिन्दा शिवराज दाहाल बर्दिवासमा देखिने यस्तो परिवर्तन मुसहर समुदायभित्र अपवाद जस्तो रहेको बताउँछन् ।    

 

गरीबी, अशिक्षा र अभावले गाँजिए पनि यसबारे कुनै गुनासो व्यक्त नगर्ने मुसहर नागरिकता प्रमाणपत्र र राज्यबाट नागरिकका हैसियतमा पाउनु पर्ने अन्य अवसरबारे पूरै बेखबर देखिन्छन् । पछिल्ला केही वर्षयता नागरिकता प्रमाणपत्र बनाएका मुसहरहरु सगर्व मालिकले चुनावमा भोटका लागि बनाइदिएको बताउँछन् ।    

 

मुसहर बस्तीमा ५० वर्ष नाघेका मानिस हम्मेसी भेटिँदैनन्, कुपोषण र मदिराकोे लतले चाँडै बिरामी भई ५० वर्षको उमेर पुग्दानपुग्दै कालको मुखमा पर्छन् । एकडारा गाउँपालिका–३ भटौलियाको मुसहर बस्ती नजीकैका छिमेकी सामाजिक तथा राजनीतिक कार्यकत्र्ता विजयकुमार कर्णले यदाकदा ५० माथिको उमेरका भेटिने मुसहरहरू पनि दीर्घरोगी र जीर्ण देखेका छन् ।    

 

समयको प्रवाहसँगै मुसहरले पनि अरुको देखासिकीबाट छोराछोरी पढाउनु पर्ने रहेछ भन्ने बुझ्न थालेका छन् तर, अत्यावश्यक शैक्षिक सामग्री र खानेकुरासम्मकै जोहो गर्न नसक्नाले शिक्षाप्रति खुलेको चेतले विस्तार हुने मौका पाएको छैन ।    

 

“नानी पढाउने त ठिकै कुरा रै’छ हजुर !” जिल्लाको बलवा नगरपालिकाको भगवतीपुर मुसहरी टोलका अगुवा उत्तिम माझी मुसहरले भने, “भन्या बेला खानदिन सकिँदैन । कापीकलम जुटाउन पनि हम्मे पर्छ । त्यसैले विद्यालय पु¥याइएका हाम्रा नानी पनि त्यहाँ (विद्यालयमा) टिक्न सक्दैनन् ।”    

 

तराई क्षेत्रमा पूव–पश्चिम राजमार्ग क्षेत्रदेखि सुदूर दक्षिण भारतीय सीमाक्षेत्रसम्म पराले झुप्राका बस्तीमा बस्ने मुसहरको उत्थानका लागि शैक्षिक, सामाजिक चेतनासँगै आयआर्जनका वैकल्पिक उपाय र उपचारसम्बन्धी सघन सचेतना बढाउन सके मात्र उत्थान हुनसक्ने समाजशास्त्रीहरु बताउँछन् ।

 

यसका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारको प्रभावकारी पहलकदमीसँगै राजनीतिक दलहरुको तत्परता आवश्यक रहेको बर्दिवास जनता बहुमुखी क्याम्पस बर्दिवासका प्रमुख तोप ठकुरीको ठम्याइ छ ।   – गोपाल बराल/रासस

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');