काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले ४३ र ५३ ग्रेड सिमेन्टमा म्याग्नेसियम अक्साइड (एमजीओ) ५ प्रतिशत मात्रै हुनुपर्ने नियम बनाएको छ । यसअघिसम्म ३३, ४३ र ५३ ग्रेड सिमेन्टमा एमजीओको मात्रा ६ प्रतिशत थियो । तर, अबदेखि ३३ गेडको सिमेन्ट मात्रै ६ प्रतिशत एमजीओ मान्यता हुने बाँकी ग्रेडको सिमेन्टमा पाँच प्रतिशत भन्दा बढी एमजीओ हुनु नहुने मापदण्ड बनाएको हो ।
विभागका अनुसार ठूला पूर्वाधार निर्माणमा ४३ र ५३ ग्रेडका सिमेन्ट उद्योगको प्रयोग हुन्छ । त्यही सिमेन्टमा एमजीओ ५ प्रतिशत मात्रै हुनुपर्ने नियम बनाइएको हो । सिमेन्ट उद्योगीले भारत, पाकिस्तान, चीनमा भएकै मापदण्ड बनाउनुपर्ने लविङ गर्दै आएका थिए । चीन, भारत, पाकिस्तानमा एमजीओ ६ प्रतिशत छ । तर, नेपालमा ३३ ग्रेडमा मात्रै ६ प्रतिशत र अन्य दुई ओटा ग्रेडमा ५ प्रतिशत मात्रै एमजीओ हुनुपर्ने नियम बनाइएको हो ।
सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुब थापाले सङ्घले ६ प्रतिशत कायम गरौ भन्दा भन्दै सरकारले गुणस्तरमा सम्झौता नगर्ने भन्दै पाँच प्रतिशत कायम गरेको बताए । ‘छिमेकी मुलुकमा ६ प्रतिशत छ, नेपालमा पनि सोही मापदण्ड लागू गरौ भनेको हो,’ उनले भने, ‘तर, विभागले गुणस्तरमा सम्झौता गर्न नहुने भन्दै अडान लिएपछि अन्तिममा पाँच प्रतिशत नै कायम भएको हो ।’
अहिले एमजीओ ६ प्रतिशत भएका केही उद्योगलाई यसले गम्भीर असर पर्ने देखिएको छ । खासगरी पश्चिमतिरका उद्योगलाई यो नियमले प्रत्यक्ष असर पार्ने देखिएको छ ।
त्यसैगरी विभागले कस्मेटिक्स पनि नयाँ मापदण्ड बनाएको छ । लिपिस्टिक, सन्सक्रिमलगायत ८ ओटा कस्मेटिक्समा पनि मापदण्ड बनाएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार बुधबार विभिन्न ८ ओटा मापदण्ड स्वीकृति गरेको जानकारी दिए ।