ट्रम्पकालमा शक्ति र अन्तरनिर्भरता

account_box जोसेप एस एनवाईई जेआर ,
प्रकाशित: २०७६ असार २१, शनिबार  
ट्रम्पकालमा शक्ति र अन्तरनिर्भरता

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आर्थिक भूमण्डलीकरणलाई हतियार बनाएको आरोप लाग्दै आइरहेको छ । प्रतिबन्ध, ट्यारिफ र अमेरिकी डलरमाथिको पहुँचमा निषेध उनको वैदेशिक नीतिका प्रमुख हतियार हुन् र ती हतियारलाई प्रयोग गर्न उनलाई न साझेदार राष्ट्रले रोक्न सकेका छन् न त कुनै संस्था वा कानुनले । 

 

चर्चित वेबसाइट ‘द इकोनोमिस्ट’का अनुसार अमेरिकाको यो शक्ति उसको सेना र हवाई विमानहरुबाट मात्र आएको होइन, वास्तवमा यो शक्ति त उसले भूमण्डलीकरणलाई मजबुत बनाउने सञ्जालको केन्द्रबिन्दु भएकाले प्राप्त गरेको हो । यो आइडिया र स्ट्यान्डर्डले अमेरिकी विज्ञतालाई झल्काउँछ तर, ट्रम्पको यस्तो तरिकाले सङ्कट उत्पन्न गराउन सक्छ र यसले अमेरिकाको सबैभन्दा अमूल्य सम्पत्ति ‘वैधानिकता’लाई आँच पुर्याउँदैछ ।

 

न ट्रम्प पहिलो राष्ट्रपति हुन्, न त अमेरिका मात्रै पहिलो देश हो जसले आर्थिक अन्तरनिर्भरतालाई तोडमोड गर्ने प्रयास गरेको छ । उदाहरणका लागि १९७३ मा अमेरिकाले योम किप्पूर युद्धमा इजरायललाई समर्थन गरेको भन्दै सजाय दिनका लागि अरब राष्ट्रहरुले अमेरिकामाथि तेल प्रतिबन्धको नीति अपनाए । त्यसको केही समयपछि नै रोबर्ट ओ कोइहाने र यस लेखको लेखक म स्वयमले ‘पावर एन्ड इन्टरडिपेन्डेन्स’ नामको एउटा पुस्तक प्रकाशन गर्यौं, जसमा असमानान्तर अन्तरनिर्भरतालाई शक्ति स्रोतका रुपमा प्रयोग गर्न सकिने विभिन्न मार्ग पहिल्याइएको थियो ।

 

तर, हामीले चेतावनी पनि दिएका थियौं कि कहिलेकाँही अल्पकालीन फाइदा दीर्घकालीन घाटाका रुपमा बदलिन सक्छ । उदाहरणका लागि, राष्ट्रपति रिचर्ड एम निक्सनको समयमा उनले मुद्रास्फीतिलाई कमजोर बनाउने आशाले अमेरिकी सोयाबिनको निर्यातमाथि प्रतिबन्ध लगाए, तर दीर्घकालमा गएर ब्राजिलमा सोयाबिनको बजार यति तीव्र गतिमा विस्तार भयो कि पछि अमेरिकी उत्पादकसँग नै प्रतिस्पर्धामा गयो । 

 

सन् २०१० मा पूर्वी चिनियाँ समुद्रस्थित विवादित सेनकाकु अथवा डियायु टापुमा चिनियाँ र जापानी जहाज ठोक्किएपछि चीनले जापानलाई सजायस्वरुप दुर्लभ पृथ्वीको धातू निर्यात गर्न बन्द गर्यो, जुन आधुनिक विद्युतीय सामग्रीका लागि अत्यावश्यक थियो । परिणामस्वरुप जापानले अस्ट्रेलियाली खनिज कम्पनीलाई पैसा दिएर मलेसियामा रिफाइनरी स्थापना गर्यो । आज त्यही रिफाइनरीले जापानको एक तिहाइ माग धानिरहेको छ । यसका साथै २००० को दशकमा बन्द भएको क्यालिफोर्नियास्थित माउन्टेन पास माइन पुनः खुल्यो । यससँगै २०१० मा ९५ प्रतिशत दुर्लभ खनिज धातू विश्व बजारमा उत्पादन गर्दै आएको चीनको उत्पादकत्व गत वर्ष ७० प्रतिशतमा झर्यो । 

 

यस वर्ष ट्रम्पको ट्यारिफको एउटा सूक्ष्म तर रणनीतिक प्रतिक्रियाका रुपमा चिनियाँ राष्ट्रपति सी जिनपिङ चीनको दुर्लभ धातू उत्पादन गर्ने क्षेत्रमा भ्रमण गरिरहेको तस्बिर सार्वजनिक भयो । ती धातू अमेरिकी इलेक्ट्रोनिक्स उत्पादकहरुका लागि एकदमै महत्त्वपूर्ण छ । 

 

अमेरिका र अन्य मुलुकहरुले चीनको आर्थिक क्रियाकलापमाथि सामूहिकरुपमा गुनासो व्यक्त गर्दै आइरहेका छन् । बौद्धिक सम्पत्तिको चोरी गर्ने र व्यापारको खेल मैदानलाई असन्तुलित पार्ने राज्यसञ्चालित कम्पनीहरुलाई अनुदान दिनेलगायतका उसका आर्थिक क्रियाकलापमा ती मुलुकहरुको सामुहिक गुनासो छ । 

 

यसबाहेक फाइभ–जी वायरलेसका लागि चिनियाँ कम्पनी हुवावेको निर्भरताबाट पन्छिनु अमेरिकासँग पर्याप्त सुरक्षा कारण छन् । र चीनले वाक् स्वतन्त्रतासम्बन्धी सुरक्षा कारण देखाउँदै फेसबुक र गुगललाई उसको सर्चइन्जिन ग्रेट फायरवालमा सञ्चालन हुन स्विकृति दिएको छैन । तर, सुरक्षा कारणका लागि केही प्रविधि र कम्पनीलाई प्रतिबन्ध लगाउनु एउटा कुरा हो र राजनीतिक प्रभाव विकास गर्न कमर्सियल सप्लाई चेनमा व्यापक अवरोध पुर्याउनु अर्को कुरा हो । यस्तो प्रभाव कति समय रहन्छ वा भविष्यमा गएर यसको मूल्य कस्तो चुकाउनु पर्छ भन्ने कुरा अस्पष्ट छ ।

 

यदि मुलुकहरु आफूलाई अमेरिकी अन्तरनिर्भताको सञ्जालबाट चाँडै निकाल्न सक्दैनन् भने पनि दीर्घकालमा यस्तो कदम उठाउन इन्सेन्टिभ्सले उनीहरुलाई बलियो बनाउँदै लानेछ । यसबीच द्वन्द्वलाई नियन्त्रण गर्ने र वैश्विक उपभोग्य वस्तु निर्माण गर्ने अन्तर्राष्ट्रिय संस्थालाई यसले ठूलो क्षति पुर्याउँछ । हेनरी किसिन्गरले भनेका छन्, ‘विश्वको सुव्यवस्था शक्तिको स्थिर सन्तुलनमा मात्र निर्भर हुँदैन, बरु संस्थाहरुले योगदान दिने ‘सेन्स अफ लेजेटिमेसी’ मा पनि निर्भर हुन्छ ।’ 

 

चिनियाँ आर्थिक क्रियाकलापलाई प्रतिक्रिया दिने कुरामा ट्रम्प सही छन्, तर अमेरिकी साझेदार र अन्तर्राष्ट्रिय संस्थाहरुले चुकाउनु पर्ने मूल्यको बेवास्ता गरी उनले जसरी गरे त्यो गलत छ । यही समस्याले इरान र युरोपमाथिको उनको नीतिलाई पनि कमजोर बनाएको छ । 

 

खुला बजार र आर्थिक भूमण्डलीकरण अवरोधपूर्ण हुनसक्छ, तर यसले असमान वितरण भएता पनि धनको सृजना गर्छ । करोडौं अमेरिकी र विदेशीहरुको दैनिक जीवनमा वित्तीय स्थिरता कायम गर्नु एकदमै महत्त्वपूर्ण छ यद्यपि उनीहरुले यो कुरालाई ख्याल नगरेका हुन् ।

 

राष्ट्रवादी पपुलिस्टको नकारात्मक प्रक्रियाले आर्थिक भूमण्डलीकरणलाई जे जति असर पुर्याए पनि पर्यावरणीय भूमण्डलीकरण एउटा बेवास्ता गर्न नसकिने पाटो हो । हरितगृह ग्याँस र हैजा जस्ता रोगहरुले राजनीतिक सीमाको वास्ता गर्दैन । पपुलिस्ट राजनीतिकको कानुन जसले ट्रम्पलाई विज्ञानको नियमलाई अवज्ञा गर्न र २०१५ को पेरिस क्लाइमेट सम्झौताबाट बाहिरिन सिकायो, यो व्यवहार भौतिकशास्त्रको कानुनसँग एकदमै बाझिन्छ । 

 

चीन र अमेरिका उदारवादी प्रजातन्त्रमा असहमत छन्, तर हामी आर्थिक र पर्यावरणीय अन्तरनिर्भरतालाई व्यवस्थापन गर्न खुला, नियमसङ्गत प्रणाली विकास गर्ने चाहना समान राख्छौं । 

 

ट्रम्प प्रशासनका केही बचाउकर्ताहरुले उनको गैरपुरातनवादी स्टाइल र कानुन तोड्ने संस्था अस्वीकार गर्ने चाहनाले उत्तर कोरियाको परमाणु हतियार, चीनको जबरजस्ती प्रविधि प्रसार गर्ने नीति र इरानको सत्तापरिवर्तनमा महत्त्वपूर्ण उपलब्धी हासिल गरेको तर्क गर्छन् । तर, शक्ति र अन्तरनिर्भरताबीचको सम्बन्ध समयसँगै परिवर्तन भएर जान्छ र भूमण्डलीय अन्तरनिर्भरतामा अमेरिकाको विशेषाधिकारयुक्त अवस्थामा अत्यधिक हालिमुहालीले उसको आत्मबचाउलाई प्रमाणित गरेको छ । 

 

द इकोनोमिस्ट पत्रिकाले तर्क गरेजस्तै रेकिङ बल अप्रोच अर्थात् भत्काउन सक्ने अमेरिकी अप्रोचको संस्थागत खर्चले दीर्घकालमा अमेरिकी शक्तिलाई क्षय गर्नेछ । त्यस्तो अवस्थामा ट्रम्पको अप्रोच अमेरिकी राष्ट्रिय सुरक्षा, समृद्धि र जीवनशैलीका लागि महँगो साबित हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी विचार बाट थप

Top