सडक २५ मिटर फराकिलो हुन्छ

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार २३, साेमबार,०४:१२:PM  
सडक २५ मिटर फराकिलो हुन्छ

हेटौँडा । हेटौँडामा २५ मिटर सडक विस्तार गर्ने सडक विभागको निर्णयपछि यसक्षेत्रमा सबैले आ–आफ्नो धारणा राख्न थालेका छन् । सडक विभागले गत असार ७ गते सडक सीमाभित्रको संरचना हटाउन भन्दै सूचना निकालेपछि यस विषयमा आम हेटौँडावासीको ध्यान खिचिएको छ ।    
    

डिभिजन सडक कार्यालय मकवानपुरले पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथअन्तर्गतको हेटौँडा बजार क्षेत्रभित्र पर्ने सडकको दायाँबायाँ २५/२५ मिटरभित्र पर्ने घर, टहरा, मन्दिर लगायतका संरचना हटाउन सूचना जारी गरेसँगै सडक विस्तारको अभियानले फेरि गति लिने भएको हो ।    
    

यसै सन्दर्भमा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) ले पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथअन्तर्गतको सडकको दायाँबायाँ २५/२५ मिटर सडक विस्तारको काम स्वागतयोग्य भएको बताएका छन् ।    
    

पुलामीले प्रदेशको राजधानीसमेत रहेको हेटौँडामा सडक फराकिलो नहुँदा निकै समस्या देखिएको भन्दै सडक विस्तार गर्ने कामलाई सबैले सहयोग गर्नुपर्ने बताए ।    
    

हेटौँडा बजार क्षेत्रमा पनि नियमअनुसार नै सडक विस्तार हुनुपर्ने उनको धारणा छ । राजमार्गको अन्य स्थानमा २५ मिटर सडक विस्तार गरेर हेटौँडा बजार क्षेत्रमा मात्रै १६ मिटर विस्तार गर्दा नियमअनुसार नहुने भएकाले सबैतिर एकै तरिकाले विकास गर्नुपर्नेमा उनले जोड दिए ।    
    

राज्यले आवश्यक पहिचान गरी सुकुम्बासी नै हुने अवस्थाका घरधनी वा व्यवसायीको हकमा भने सोच्नुपर्ने उनको भनाइ छ । डिभिजन सडक कार्यालय हेटौँडाका सूचना अधिकारी जयराम अधिकारीले सडक विस्तार अब निश्चित भएको प्रतिक्रिया दिए ।    
    

उनले सडक विस्तार गरिने क्षेत्रको क्षतिको लगत सङ्कलनको कामसमेत सकिनै लागेको जानकारी दिए । यद्यपि अदालतको स्टे अर्डर भएकाको घर भने नभत्किँने भएको छ । सडक विस्तारको काम राप्ती रोड वा बुद्ध चोकबाट सुरु हुने उनको भनाइ छ ।    
    

यता सडक विस्तारका विषयमा उद्योगी व्यवसायीको छाता सङ्गठन मकवानपुर उद्योग वाणिज्य सङ्घ भने असन्तुष्ट देखिएको छ । सङ्घका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले सरकारले उचित मुआब्जाको व्यवस्था गरेरमात्रै सो काम गर्नुपर्ने धारणा राखे ।    
    

केही समयअघि सडक विस्तारको काम सुरु भइसकेको थियो । तत्कालीन क्षेत्रीय प्रशासक विनोद केसीले सडक भत्काउन सुरु गरेका थिए । केही घर पनि भत्काइएको थियो । उनको राजनीतिक दबाबमा सरुवा भएपछि यो विषय अन्योलमा परेको थियो ।    रासस

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पूर्वाधार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');