नेपाली नानो भूउपग्रह मादागास्कार टापूमा, हप्ता दिनमा तस्बिर आउने

account_box युजु खालिङ ,
प्रकाशित: २०७६ असार २४, मङ्गलबार  
नेपाली नानो भूउपग्रह मादागास्कार टापूमा, हप्ता दिनमा तस्बिर आउने

काठमाडौं । असार २ गते पृथ्वी कक्षमा छोडिएको नेपालको पहिलो भूउपग्रह हाल अफ्रिकी मादागास्कार टापूमा रहेको नेपाल विज्ञान प्रतिष्ठान (नास्ट)ले बताएको छ । उक्त नानो भूउपग्रहले पृथ्वीको तस्बिर लिइसकेको र नास्ट त्यो प्राप्त गर्ने प्रक्रियामा छ । 

हालसम्म नेपाली ग्राउन्ड स्टेसन तयार नभइसकेका कारण तस्बिर जापानी विश्वविद्यालय क्यूटेकसँग माग गरिएको नास्टले बताएको छ । ‘नास्टले क्यूटेकसँग तस्बिरका लागि प्रक्रिया अघि बढाएको छ, क्यूटेकले पनि जापानको शिक्षा मन्त्रालयसँग भूउपग्रहको दर्ता निवेदन पेस गरेको छ । मन्त्रालयले स्वीकृत गरिसकेपछि डिकोड गरिएको अर्थात् प्रशोधित तस्बिर क्यूटेकले नेपाल पठाउने छ,’ नास्टको प्रविधि सङ्कायका प्रमुख डा. रवीन्द्रप्रसाद ढकालले क्यापिटल नेपालसँग भने । उक्त प्रक्रिया पूरा हुन दुई तीन दिन लाग्ने र तस्बिर नेपाल आएलगत्तै मिडियामा प्रसार गरिने प्रमुख ढकालले बताए । 


नेपाली नानो भूउपग्रहको अवस्थाबारे प्रश्न गर्दा उनले नेपाली भूउपग्रह हाल अफ्रिकाको मादागास्कार टापूमा ट्र्याक गरिएको बताउँदै यसले स्वभाविकरुपमा पृथ्वीको परिक्रमा गरिरहेको बताए । साथै नानोसँगै पृथ्वी कक्षमा प्रक्षेपण गरिएका अन्य दुई भूउपग्रहसँग यसको सम्पर्क स्थापनाको अवस्था पनि राम्रो रहेको उनले जानकारी दिएका छन् । 


हाल जापानी विश्वविद्यालय क्यूटेकले नेपाली नानो भूउपग्रहले पृथ्वीको इलेक्ट्रोम्याग्नेटिक रेडियसनको कस्तो प्रक्रिया दिन्छ भनेर डिटेक्ट गरी अध्ययन गरिरहेको प्रविधि सङ्कायका प्रमुख ढकालले बताए । साथै क्यूटेकले भूउपग्रहलाई पृथ्वी कक्षमा छोड्दा त्यसको सतहमा राखिएका रसायन ग्लुको पनि परीक्षण गरिरहेको छ । 


भूउपग्रहको सञ्चालन तथा व्यवस्थापनबारे प्रश्न गर्दा प्रमुख ढकालले भने, ‘भूउपग्रहलाई पृथ्वी कक्षमा छोडिसकेपछि त्यसको मर्मत सम्भार वा व्यवस्थपन गर्न मिल्दैन । त्यसले पृथ्वीको ग्राउन्ड स्टेसनसँग सम्पर्क स्थापित गर्न सकेन भने त्यो बिग्रिएको भनेर बुझ्ने हो । त्यसलाई पुनः मर्मत सम्भार गर्न मिल्दैन । करिब दुई करोड रुपैयाँको हाम्रो भूउपग्रह होस् वा ६ अर्बकै, एक पटक बिग्रिएपछि त्यो बनाउन मिल्दैन ।’


क्यूटेक विश्वविद्यालयको बर्ड–३ प्रोजेक्टको सदस्य भएको नाताले तस्बिर प्राप्त गर्न तथा भूउपग्रहको बाँकी अनुसन्धानका लागि नेपालले खर्च बेहोर्नु नपर्ने नास्टले बताएको छ । भूउपग्रहको थप रिसर्चबाट प्राप्त सम्पूर्ण कुरा त्यहाँ अध्ययनरत विद्यार्थीहरुले शैक्षिक प्रयोजनका लागि प्रयोग गर्नु पर्ने हुँदा त्यसको खर्च नेपालले बेहोर्नु पर्दैन । 


ग्राउन्ड स्टेसन निर्माणबाहेक अर्को भूउपग्रह निर्माणका विषयमा नास्ट काम गरिरहेको प्रमुख ढकालले बताए । आगामी आर्थिक वर्षमा सरकारले स्पेस अनुसन्धान केन्द्र बनाउने घोषणा गरेको हुँदा यसको पूर्वाधारको विषयमा अध्ययन भइरहेको ढकालले भनेका छन् । 


जुलाई १७ सम्म निर्माण कार्य सम्पन्न हुने भनेको नेपाली ग्राउन्ड स्टेसनको सम्पूर्ण इन्स्टलेसन, लाइसेन्सिङ प्रक्रियालगायत सम्पूर्ण कार्य समापन भइसकेको, तर टेन्डर आह्वान गरेको कम्पनीले एन्टेना ल्याउन ढिलाइ गरिदिँदा ग्राउन्ड स्टेसन अहिले तयार नभइसकेको ढकालले बताए । ग्राउन्ड स्टेसन तयार भइसकेपछि नेपाली भूउपग्रहले खिचेका तस्बिर नास्ट आफैले रिसिभ गरेर प्रशोधन गरी प्रकाशन गर्न सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सूचना प्रविधि बाट थप

Top