प्राकृतिक विपद्सम्बन्धी पूर्वजानकारी दिँदै टेलिकम

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार २५, बुधबार  
प्राकृतिक विपद्सम्बन्धी पूर्वजानकारी दिँदै टेलिकम

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी/पहिरोलगायतका प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न नेपाल टेलिकमले सम्भावित विपद्सम्बन्धी पूर्वजानकारी सम्प्रेषित गर्नका लागि विशेष भूमिका निर्वाह गरिरहेको छ । 

 

टेलिकमले जल तथा मौसम विज्ञान विभागसँग मिलेर यस्ता सम्भावित विपद् क्षेत्रका बासिन्दालाई मोबाइलमार्फत निःशुल्क सन्देश पठाएर सुरक्षित रहनका लागि सचेत गराउँदै आएको छ ।

 

टेलिकमले हालै जल तथा मौसम विज्ञान विभागले यो साताको अन्त्यसँगै मुलुकभरका प्रायः नदीको बहाव उच्च हुने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिएको छ । पहाडमा पानी परेमा पहिरो जान सक्ने र तराई डुबानमा पर्न सक्ने कुरालाई मध्यनजर गरी यससम्बन्धी पूर्वजानकारी उपलब्ध गराइन्छ । 

 

टेलिकम र जल तथा मौसम विज्ञान विभागबीचको सहकार्यमा जल तथा मौसमजन्य सम्भावित विपद्सम्बन्धी पूर्वसूचना उपलब्ध गराउन मोबाइलमार्फत एसएमएस प्रवाह गर्ने गरेको छ ।  जसअनुसार महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, वाग्मती, कोशी नदी क्षेत्र र हिमाली क्षेत्रका ग्राहकको मोबाइलमा विपद्सम्बन्धी पूर्वसूचना सम्प्रेषणको व्यवस्था मिलाइएको छ ।

 

यसका लागि टेलिकमले सम्भावित विपद् क्षेत्रका मोबाइल सेवाका ग्राहकहरुको विवरण मौसम विज्ञान विभागलाई उपलब्ध गराइरहेको छ । विभागले ११५५ कोडको प्रयोग गरी विशेषगरी विपद् आउनुपूर्व प्रभावित क्षेत्रका बासिन्दाले प्राप्त गर्न सक्ने गरी समूहगत सन्देश (बुल्क एसएमएस) मार्फत आवश्यक जानकारी पठाउने गर्दछ । 

 

विपद्को पूर्वजानकारीले क्षति न्यूनीकरण गर्न सकिने तथा मानवीय क्षति हुन नदिन वा कम गर्न सकिने भएकाले कम्पनी र जल तथा मौसम विज्ञान विभागबीच सहकार्य गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सूचना प्रविधि बाट थप

Top