बीआरआई सम्झौता अनुमोदन

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार २५, बुधबार  
 बीआरआई सम्झौता अनुमोदन

अल्जियर्स । अल्जेरियाले चीनले अघि सारेको बेल्ट एन्ड रोड (बीआरआई) कार्यक्रमलाई औपचारिक रुपमा अनुमोदन गरेको छ । अल्जेरियाको एपीएस समाचार संस्थाका अनुसार उत्तर अफ्रिकी मुलुक अल्जेरिया गत वर्ष सेप्टेम्बरमा सहभागी भएको थियो ।    
    

बीआरआईसम्बन्धी सहमतिपत्रमा अल्जेरियाका अन्तरिम राष्ट्रपति अब्देलकादेर बेनसलाहले हस्ताक्षर गरेको र त्यसलाई सरकारी राजपत्रमा प्रकाशन गरिएको छ ।    
    

राष्ट्रपतिको आदेशमा अल्जेरिया र चीनले पूर्वाधारका क्षेत्रमा पारस्परिक लाभ तथा दुवै पक्षबीच सहमति भएका अन्य क्षेत्रमा आपसी सहयोगलाई बढावा दिइने उल्लेख छ ।    
    

सन् २०१८ को सेप्टेम्बर ४ मा बेइजिङमा सम्पन्न चीन–अफ्रिका सहयोग मञ्चको बैठकका अवसरमा अल्जेरिया र चीनबीच बीआरआईमा सहभागी हुनेबारे सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।    
    

सन् २०१३ मा चीनले प्रस्ताव गरेको बीआरआईले सिल्करोड आर्थिक क्षेत्र तथा एक्काइसौं शताब्दीको म्यारिटाइम सिल्करोडलाई समेट्छ । यस कार्यक्रममार्फत एसियासँग युरोप, अफ्रिका र अन्य क्षेत्रलाई जोडेर व्यापारलाई बढावा दिने तथा पूर्वाधारको विशाल सञ्जाल निर्माण गरिनेछ ।    
    

अल्जेरियाले हाल विशाल पूर्वाधार परियोजनाहरु निर्माण गरिरहेको र त्यसलाई बीआरआई कार्यक्रममा समावेश गर्ने प्रयास गरिरहेको छ । विगत छ वर्षदेखि नै अल्जेरिया चीनको प्रमुख आर्थिक साझेदार रहिआएको छ । दुवै मुलुकबीच करिब ९ अर्ब डलरको वार्षिक व्यापार हुने गरेको छ ।    
    

सन् २००९ को पहिलो पाँच महिनामा चीनले करिब ३ अर्ब ५० करोड डलरबराबरका सामग्री अल्जेरिया निकासी गरेको थियो । 

रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top