चिप्लेढुङ्गा । विभिन्न कारणले हिंसामा परेर सडकमा कष्टकर जीवन बिताउन बाध्य महिलाको सहज जीवनयापनका लागि गण्डकी प्रदेशमा सुरक्षित आवासगृह निर्माण थालिएको छ ।
सुरक्षागृहका लागि विभिन्न सरोकारवाला निकायले पटक पटक सुरक्षा आवासगृहका लागि दबाब र ध्यानाकर्षण गराउँदै आएका थिए ।
सामाजिक विकास मन्त्रालय र महानगरको संयुक्त लगानीमा १ करोड रुपैयाँको लागतमा पोखरा महानगरपालिका वडा ३३ मा सुरक्षा घर निर्माणको काम भइरहेको उपमेयर मञ्जु गुरुङले जानकारी दिइन् ।
सुरक्षा घर निर्माणको निरिक्षण गर्दै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले निर्माण कार्यप्रति सन्तुष्टि व्यक्त गर्दै भवन निर्माणपछि हिंसा पीडित महिलाको उचित व्यवस्थापनमा लाग्ने जानकारी दिइन् ।
गत फागुन २३ गते गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र पोखरा महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । पोखरा ३३ मा २० रोपनी जग्गा उपलब्ध गराएर अहिले दुई तलाको भवन र पर्खाल लगाउने काम तीव्र गतिमा भइरहेको वडा ३३ का वडाध्यक्ष शिव आचार्यले जानकारी दिए ।
घरेलु हिंसालगायतका विभिन्न शारीरिक र मानसिक हिंसामा परेका महिलाका लागि सरकारीतहमा आवास गृह नहुँदा सडकमै असुरक्षित जीवन यापन गर्न महिला बाध्य थिए ।
सडकमा महिलाको निकै दयनीय अवस्था देखेपछि महिला बालबालिका र मानसिक स्वास्थ्यमा काम गर्दै आएको कोपिला गैरसरकारी संस्थाले केही महिलाको उद्धार गरेर अल्पकालीन सुरक्षित आवास प्रदान गर्दै आइरहेको छ । हाल सो संस्थाले पोखरा महानगरपालिका वडा ६ र २८ मा ३६ जना हिंसापीडित महिलालाई आश्रय दिएको छ । जसमा १० वर्ष मुनिका बालबालिका छन् ।
संस्थाले हिंसा पीडित म्हिलाको सुरक्षा, मानसिक स्वास्थ्य उपचार, मनोविमर्शमार्फत उपचार गराउँदै आएको कोपिला नेपालकी कार्यकारी निर्देशक विना सिलवालले बताइन् ।
‘हामीले आर्थिक स्रोतको अभाव हुँदा पनि सडकमा महिलाको बिचल्ली देखेर उद्धार गर्यौं, तर अब धान्न नसकिने भयो,’ निर्देशक विना सिलवालले भनिन्, ‘दिनदिनै हिंसामा परेर विक्षिप्त महिला थपिँदैछन्, अब सरकारले भवन निर्माणपछि उचित व्यवस्थापन गर्नेछ भन्नेमा विश्वस्त छौं ।’
उनले निकै कठिन अवस्थामा पनि मानवीय कर्तव्य पूरा गरिरहेको, स्वास्थ्यमा सुधार भएकालाई विभिन्न सीपमूलक तालिम प्रदान गर्दै परिवारको पहिचान गरेर पुनस्र्थापन पनि गर्दै आइरहेको बताइन् । जमुना वर्षा शर्मा/रासस