काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्ट उत्पादन लेमिनेटेड बोरामा मात्रै बजारमा ल्याउन उद्योग–उद्योगमा पत्राचार गरेको छ ।
सर्वोच्च अदालतले लेमिनेटेड बोरालाई कार्यान्वयनमा ल्याउन फैसला गरेपछि विभाग अघि बढेको हो ।
विभागले बुधबार सिमेन्ट उत्पादक सङ्घलाई पत्राचार गरिसकेको छ भने बिहीबार नै उद्योग–उद्योगमा पत्राचार गरेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।
विभागले २०६९ सालमै लेमिनेटेड बोरामार्फत सिमेन्ट बजारमा ल्याउन व्यवसायीलाई भनेको थियो । त्यसको विरोध गर्दै व्यवसायीले अदालतमा उजुरी हालेको र अदालतले तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि रोकिएको थियो । तर, अहिले अदालतले विभागको उक्त निर्णय कार्यान्वयन गर्न फैसला गरेपछि सरकार अघि बढेको हो ।
उद्योगीले सिमेन्ट उत्पादन गरेर लेमिनेटेड बोरामार्फत बजारमा ल्याउँदा बोराको लागत बढ्ने र त्यसको असर सिमेन्टकै मूल्यमा पर्ने भएकाले विरोध गर्दै आएका थिए ।
विभागका महानिर्देशक पुडासैनीले लेमिनेटेड बोरामा सिमेन्ट प्याक गर्दा उपभोक्तालाई फाइदा हुने भएकाले कार्यान्वयनमा लैजाने बताए । ‘हामीले पहिलेदेखि नै कार्यान्वयनमा ल्याउन चाहेका थियौं,’ उनले भने, ‘तर, अदालतले अन्तरिक आदेश दिएकाले रोकिएको हो । अहिले फेरि अदालतबाटै कार्यान्वयनमा लैजान आदेश आएपछि अघि बढेका छौं ।’
उनका अनुसार उद्योगसँग भएको स्टक बोरालाई प्रयोग गर्न केही समय दिइने छ । तर, सधैंभरि त्यही बोरामा सिमेन्ट ल्याउन पाइँदैन । यदि उद्योगीले जबरजस्ती गरेर लेमिनेसन नगरेका बोरामा सिमेन्ट बजारमा ल्याए त्यसको बिक्री रोक्ने उनको भनाइ छ ।