काठमाडौं । वर्षौंदेखि लेमिनेटेड बोरा उत्पादन गरेर भारत निर्यात गर्दै आएको जगदम्बा सेन्थेटिकसँग देशमा आवश्यक पर्ने लेमिनेटेड बोराको माग पूरा गर्ने क्षमता छ ।
अहिले देशमा २० करोड बोरा सिमेन्ट उत्पादन हुने सिमेन्ट उत्पादक सङ्घको तथ्याङ्क छ । तर, जगदम्बा सेन्थेटिकले वार्षिक ७२ करोड बोरा उत्पादन गर्न सक्ने सौरभ समूहका प्रबन्ध निर्देशक विष्णु न्यौपानेले बताए ।
‘नेपालका सिमेन्ट उद्योगलाई चाहिने जति लेमिनेटड बोरा हामी आफैं उत्पादन गरेर दिन सक्छौं,’ उनले भने, ‘देशमा उत्पादन हुने सिमेन्टको मागभन्दा हाम्रो उत्पादन झन्डै ४ गुणा बढी छ ।’
उनका अनुसार अहिले जगदम्बा सेन्थेटिकले दैनिक २० लाख बोरा बनाउँछ । महिनामा ६ करोड र वार्षिक ७२ करोड बोरा बनाउन सक्छ । ‘हाम्रा लागि नेपालको सम्पूर्ण बजार भनेको १० देखि १५ प्रतिशत मात्रै हो,’ न्यौपानेले भने ।
उनका अनुसार जगदम्बाले अहिले पनि ठूलो परिमाणमा लेमिनेटेड बोरा बनाएर भारत निकासी गरिरहेको छ । चालू आर्थिक वर्षमा मात्रै जगदम्बा सेन्थेटिकले २ अर्ब ६४ करोड रुपैयाँबराबरको निकासी गरेको न्यौपानेले बताए । उक्त रकममध्ये २ अर्ब रुपैयाँ लेमिनेटेड बोराको मात्रै हो ।
उनका अनुसार सरकारले अनिवार्यरुपमा लेमिनेटेड बोरामा सिमेन्ट ल्याउन बाध्यकारी बनाए, उपभोक्तालाई ठूलो फाइदा हुन्छ । भारतसहित विभिन्न देशमा लेमिनेटेड बोरामा सिमेन्ट राखेर बजारमा पठाउनुपर्छ । भारतमा ह्वाइट सिमेन्टमा बाध्यकारी छ । अन्य सिमेन्टमा बाध्यकारी छैन । तर, बङ्गलादेशमा दुवै प्रकारका सिमेन्टमा बाध्यकारी छ ।
अहिले भइरहेको बोराभन्दा थोरै मात्र महँगो हुन्छ । अहिलेको बोरामा सिमेन्ट पठाउँदा चिसो पस्ने, ओस लाग्नेलगायतका समस्या हुन्छन् । जसका कारण उपभोक्ता मर्कामा पर्ने गरेका छन् । तर, लेमिनेटेड बोरामार्फत सिमेन्ट बजारमा पठाउँदा उपभोक्तालाई ठूलो राहत हुने उनको भनाइ छ ।
‘उद्योगीलाई पनि ठूलो कस्ट बढ्दैन,’ उनले भने, ‘बोरामा बाहिरबाट पातलो प्लास्टिक लेपन गर्ने हो । उद्योगीले त्यस्ता मेसिन राख्न चाहेमा बढीमा २ करोड रुपैयाँ लगानी थप्नुपर्छ ।’
सरकारले बाध्यकारी बनाउँछ कि स्वेच्छिक बनाउँछ, त्यो सरकारको कुरा हो । तर, बाध्यकारी बनाएको अवस्थमा उपभोक्तालाई धेरै फाइदा हुन्छ । उद्योगीलाई पनि कुनै नोक्सानी नहुने उनको बुझाइ छ ।