खल्तीबाटै अब डिम्याट र मेरोसेयर नवीकरण गर्न सकिने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार २६, बिहीबार  
खल्तीबाटै अब डिम्याट र मेरोसेयर नवीकरण गर्न सकिने

काठमाडौं । ‘खल्ती डिजिटल वालेट’ले बिहीबारबाट खल्ती एप तथा वेबसाइट प्रयोग गरी अनलाइनबाटै डिम्याट र मेरो सेयरको वार्षिक नवीकरण शुल्क भुक्तानी सेवाको औपचारिक सुरुवात गरेको छ । यससँगै सेयर कारोबार गर्नेले अबदेखि खल्तीबाटै हितग्राही खाता (डिम्याट) र मेरोसेयरको शुल्क भुक्तानी गर्न सक्ने कम्पनीले बताएको छ । 

 

सेवाको सुरुवातसँगै खल्तीले एप तथा वेबसाइटमा ‘सेयर’ नाम दिइएको एउटा नयाँ आइकन ल्याएको छ । त्यहाँबाट केही क्लिकमै बिना कुनै अतिरिक्त शुल्क छिटो र सजिलो तरिकाले डिम्याट तथा मेरोसेयर नवीकरण शुल्क भुक्तानी गर्न सकिनेछ । 

 

डिम्याट र मेरोसेयर नवीकरण शुल्क भुक्तानी सेवाको औपचारिक सुरुवात गर्दै खल्तीका म्यानेजिङ डाइरेक्टर मनीष मोदीले भने, ‘नेपालको सन्दर्भमा अहिले पनि डिम्याट तथा मेरोसेयर खातावालहरु मर्चेन्ट बैंकिङको कार्यालयमै पुगेर नवीकरण शुल्क तिर्नु पर्ने बाध्यता छ । खासमा यो काम त्यति धेरै बोझिलो हुनुहुँदैन भनेर नै खल्तीले मोबाइलबाटै सहज तरिकाले नवीकरण शुल्क भुक्तानी सेवा सुचारु गरेको हो ।’ 

 

अहिले तत्कालका लागि जम्मा छ वटा क्यापिटल तथा मर्चेन्ट बैंक खातावालहरुले यो सेवा प्रयोग गर्न सक्नेछन् । जसमा सनराइज क्यापिटल, लक्ष्मी क्यापिटल, सानिमा क्यापिटल, प्रभु क्यापिटल, एनआइसी एसिया क्यापिटल, र नबिल इन्भेष्टमेन्ट बैंकिङ छन् । खल्तीले छिट्टै अरु धेरै क्यापिटल तथा मर्चेन्ट बैंकका खातावालहरुमाझ यो सेवा विस्तार गर्ने बताएको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top