काठमाडौं । चालु आर्थिक वर्षमा सार्वजनिक र निजी क्षेत्रबाट ९ जलविद्युत आयोजना सम्पन्न भइ प्रणालीमा १०८ मेगावाट बिजुली थप भएको छ । नेपाल विद्युत प्राधिकरणको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली र बाँकी ४८ मेगावाट निजी क्षेत्रबाट थप भएको हो । जडित क्षमता १ हजार २०० मेगावाट पुगेको छ ।
निजी क्षेत्रबाट ८.८ मेगावाटको रुदी खोला ए, २२ मेगावाटको वाग्मती साना जलविद्युत आयोजना, ७.८ मेगावाटको सुपरमाई, ९ किलोवाटको सुवुवाखोला, ९६ किलोवाटको विष्णु प्रिया सोलार फार्म, १० किलोवाटको मिदिमखोला र ३.३ मेगावाटको कापीगाड जलविद्युत आयोजना सम्पन्न भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।
सरकारले चालु आर्थिक वर्षमा २८५ मेगावाट बिजुली थप उत्पादन गर्ने लक्ष्य लिएकोमा धेरै कम मात्र थप भएको छ । लक्ष्यमा रहेका अधिकाँश निजी क्षेत्रका आयोजना सम्पन्न नभएपछि पूरा नभएको अधिकारीले बताए ।
विद्युत प्राधिकरणले आफनो लगानीमा निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो आयोजनाको काम बाँकी रहेकाले आगामी साउनमा सरेको छ ।
प्राधिकरणले अगामी आर्थिक वर्षमा यो वर्षमा निर्माण हुन नसकेका आयोजनासहित कुल साढे १ हजार २०० मेगावाटका आयोजना सम्पन्न भई विद्युत उत्पादन गर्ने प्रक्षेपण गरेको छ ।
आगामी आवमा निजीक्षेत्रको ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना सम्पन्न हुने जनाइएको छ । चिलिमे जलविद्युत कम्पनी लिमिटेड अन्तर्गत १११ मेगावाटको रसुवागढी, ४२ र ११ मेगावाटका क्रमशः सान्जेन र माथिल्लो सान्जेन आयोजना पनि आगामी आवमै सञ्चालन हुने जनाइएको छ ।