काठमाडौं । कुलेखानी जलविद्युत आयोजना पुर्ण क्षमतामा चलाउदा पनि इन्द्रसरोबर जलासय भरिएर पानी जाने अवस्था आउन लागेको छ । इन्द्रसरोबरमा प्रतिघण्टा पानीको सतह ६० सेन्टीमिटरले बढेको छ ।
आयोजना पुर्ण क्षमतामा सञ्चालन गर्दा जलासयमन ३ सेन्टीमिटर मात्र घट्ने गरेको छ । प्रतिघण्टा ५७ सेन्टीमिटर पानीको वहवा बढी रहेको नेपाल विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए ।उनका अनुसार यो पानीको सतह वृद्धि वर्षा नहुँदाको हो ।
वर्षा भएमा कुलेखानीको ढोका खोल्नु पर्ने अवस्था आउने उनले सुनाए । वर्षा हुने साउन र भदौ बाँकी रहेकाले पानीको वहाव अधिक हुने संभावना रहेको छ ।
पानी बढी भएर समस्या आउने भएपछि विद्युत प्राधिकरणले सुरक्षा निकायसंग छलफल गरेको छ । पानी बढेर बाँधको ढोका खोल्नुपर्ने अवस्था आएपछि वाग्मतीमा पानीको सतह एक्कासी बढ्न गई क्षति पुर्याउन सक्ने जानकारी गराएको अधिकारीले बताए ।
अहिले बढी हुने पानीलाई व्यवस्थापन गरे बाँधको ढोका खोल्नु नपर्ने उनको भनाई छ । लगातारको वर्षाले गर्दा कुलेखानी जलासय भरिन अब ४ मिटर मात्र बाँकी छ । एक सातायता जलासयमा पानीको सतह बढेको हो । पानी परेपछि जलासय बढ्ने उनले बताए ।
सोमबार बिहानसम्म जलासय बढेर १ हजार ५२६ मिटर नजिक पुगेको छ । वर्षा भएमा २३ दिनभित्रै जलासय १ हजार ५३० मिटर पुग्ने छ । भूकम्पअघि जलासय १ हजार ५३१ मिटरसम्म भरिने गरिएको थियो ।
जलासय भरिन कात्तिकसम्म कुर्नेपर्ने र कुनै वर्ष नभरिने गरेकोमा यो वर्ष असारमै भरिने अवस्था आएको हो । जलासय भरिन अवस्था आएपछि विद्युत प्राधिकरणले कुलेखानी आयोजनाबाट ९२ मेगावाट बिजुली उत्पादन गरिरहेको छ ।
२०७२ बैशाखमा गएको भूकम्पका कारण केही कमजोर बनेको कुलेखानीको बाँध गतवर्ष १ हजार ५२७ मिटरसम्म पानी भरिएको थियो । क्यापिटल नेपालसंग कुरा गर्दे उनले भने ‘यो वर्षको अध्ययन गरिरहेका छौ हेरौ कति भर्न सकिन्छ र संरचनाले कति थेग्ने छ ।’
कुलेखानी जलासय ब्याकप आयोजना हो । सुख्खायाममा ऊर्जा सन्तुलन कायम गर्नका लागि आयोजना चलाउने गरिएको छ । यो वर्ष वर्षा हुने समय अझै बाँकी रहेकाले आयोजना साउन र भदौमा पनि सञ्चालन गर्नुपर्ने अवस्था आएको छ ।
पहिलोको पानि दोस्रो र दोस्रोबाट तेस्रो आयोजनामा लगेर १४ मेगावाट बिजुली उत्पादन गर्ने तयारी भएको छ । तेस्रो आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आउँदो साउनभित्र तेस्रो आयोजनाबाट बिजुली उत्पादन थाल्ने प्राधिकरणले जनाएको छ ।