काठमाडौं । चालु आर्थिक वर्षमा प्राथमिक र दोस्रो बजारमा गरी १ खर्ब ३२ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । यो ११ महिनाको तथ्याँक हो ।
प्राथमिकतर्फ ५३ संगठित संस्थाको करिब ३५ अर्ब रुपैयाँ पूँजी परिचालन भएको छ । दोस्रो बजारमा ९६ अर्ब ९९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । सुचिकृत कम्पनीको संख्या बढेर २०९ पुगेको छ ।
यो वर्ष प्राथमिक र ऋणपत्रको सार्वजनिक निष्काशनले फड्को मारेका कारण गत बर्षको तुलनामा सुधार आएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । यद्यपी सार्वजनिक निष्काशनमा केही कमी आएको छ । गत वर्षको सोही अवधिको तुलनामा करिब १६ प्रतिशतले कम हो ।
चालु आवमा सूचीकृत संगठित संस्थाले हकप्रद मार्फत गर्ने पूँजी परिचालनमा ८० प्रतिशतले कमी आएको छ । गत वर्ष प्राथमिक बजारमार्फत ४२ अर्ब रुपैयाँ बराबरको पूँजी परिचालन भएको थियो । प्राथमिक बजारमार्फत् परिचालित रकममा यो वर्ष कमी आएको दखिन्छ ।
चालु आवमा ऋणपत्र निष्काशनमार्फत् परिचालित रकममा उलेख्य मात्रामा बृद्धि भएका कारण धितोपत्रको प्राथमिक बजारबाट हुने पूँजी परिचालन केही हदसम्म विस्तारित भएको हो । वैकल्पिक लगानी उपकरणको विकासमा समेत सहयोग पुगेको बोर्डले जनाएको छ ।
समीक्षा वर्षमा साधारण शेयरको निष्काशन (आईपीओ) मा करिब ६७ प्रतिशतले बृद्धि भएको छ । यो बर्ष पनि ४ ओटा म्युचुअल फण्डका ४ योजनाका इकाइहरु निष्काशन भएपनि निष्काशन रकममा भने करिब १९ प्रतिशतले गिरावट आएको छ ।
दोस्रो बजारमा सूचीकृत कम्पनीहरुको संख्यामा ७.१८ प्रतिशतको बृद्धि आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लिमिटेडमा सूचीकृत कम्पनी संख्या २०९ पुगेको बोर्डले जानकारी गराएको छ ।
गत आवको सोही समयावधिको तुलनामा करिब १५.८५ प्रतिशतको कमी हो । यो वर्ष नेप्सेमा औसत ४३ करोड ८९ लाख रुपैयाँ दैनिक कारोबार भएको बोर्डले जनाएको छ । गत बर्षको तुलनामा १९.६ प्रशितले कमी हो ।