काठमाडौं । कर्मचारी सञ्चय कोषले आफनो ऋण लगानीमा निर्माण भइरहेका जलविद्युत आयोजनाको ब्याजदर घटाएको छ । कोषको सञ्चालक समिति बैठकले चालु आर्थिक वर्ष ०७६/०७७ देखि लागु हुने गरी ०.२५ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो । जलविद्युत आयोजनालाई १०.७५ प्रतिशत ब्याजदर कायम भएको छ ।
कोषले गठन गरेको समितिले आफनो ऋण लगानीमा निर्माण भइरहेका जलविद्युत आयोजनाको ब्याजदर ०.२५ प्रतिशत घटाएर १०.७५ प्रतिशत कायम गर्न शिफारिश गरेको थियो । समितिको सो शिफारिसलाई सञ्चालक समितिले अनुमोदन गरेको कोषका प्रशासक तुलसी गौतमले जानकारी दिए ।
‘गत वर्ष १ प्रतिशत घटाएर ११ प्रतिशतमा झारेका थियौ, यो वर्ष ०.७५ घटाएका छौ’ गौतमले भने ‘जलविद्युतलगायत पुर्वाधार आयोजनालाई सस्तो ब्याजमा ऋण दिने योजनामा छौ ।’ कोषको यो निर्णयले जलविद्युत आयोजनालाई केही राहात हुने भएको छ ।
सञ्चय कोषले ऋण लगानी गरेका ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोसी, ४२ मेगावाटको तल्लो सान्जेन र १४ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको ब्याजदर घटेको छ ।
५ ओटा आयोजनाको जडित क्षमता ८२६ मेगावाट छ । यी आयोजना निर्माणको अन्तिम चरणमा छन । ब्याजदर कम भएपछि आयोजनाको लागत कम हुने छ ।
माथिल्लो तामाकोसीसँग १२ प्रतिशत ब्याजदरमा ऋण सम्झौता गरे पनि कोष आफैंले घटाउँदै आएको छ । माथिल्लो तामाकोसी, रसुवागढी, तल्लो र माथिल्लो सान्जेन आयोजना आगामी आर्थिक वर्षभित्र सम्पन्न हुनेछन ।
मध्य भोटेकोसी केही ढिलाइ हुनेछ । यो आयोजनामा सञ्चय कोषका अतिरिक्त नागरिक लगानी कोष, नेपाल टेलिकम र राष्ट्रिय बीमा संस्थानको समेत लगानी छ ।
माथिल्लो तामाकोसीको निर्माण अवधिको ब्याजदर मात्र २० अर्ब रुपैयाँ पुगिसकेको छ । निर्माण अवधिको ब्याजदर ऋणमा पुँजीकरण हुन्छ । यो समेत पुँजीकरण हुँदा आयोजनाको लागत बढेर ७० अर्ब पुगेको छ ।
हाल बैङ्क तथा वित्तीय संस्थाले लिने ब्याजदर औसत १२.२३ प्रतिशत छ । यसैगरी कोषले सञ्चयकर्तालाई सापटी वापतको ऋणको ब्याजदर पनि घटाएको छ । ४० लाख रुपैयाँसम्मको ऋणको ब्याजदर ९.७५ र सो भन्दा माथिको कर्जाको १० प्रतिशत कायम गरिएको गौतमले जानकारी दिए ।
आगामी आर्थिक वर्षदेखि लिने र दिनबीचको ब्याजदर अन्तर १ प्रतिशतमा झार्ने योजना कोषको छ । यो वर्ष १.२५ प्रतिशत अन्तर रहेको गौतमले जानकारी दिए ।