काठमाडौं । बीमा कम्पनीहरुको चुक्तापूँजी वृद्धि गर्न समय नथपिने भएको छ । यसअघि दुई पटक समय थपिसकेकाले अब नथपिने नियामक बीमा समितिले जनाएको छ ।
समितिका अध्यक्ष चिरन्जीवि चापागाईले भने,‘समय थपिँदैन,अन्य विकल्पका बारेमा छलफल गर्दैछौ ।’ ती विकल्पमध्ये एउटा विकल्प मर्जर तथा एक्विजिशन हो । अरु विकल्पमा बारेमा बोर्ड बैठकले निर्णय गर्ने उनले बताए ।
समितिले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बीमा कम्पनीहरुलाई चुँक्ता पुर्याइसक्न दिएको समय सकिएको छ । संचालनमा रहेका कुल ३९ ओटा जीवन र निर्जीवन बीमा कम्पनीहरुमध्ये जेठ मसान्तसम्म जम्मा १० वटा कम्पनीहरुले मात्रै न्युनतम पूँजी पुर्याएका छन् । समितिले आर्थिक वर्ष २०७२/०७३ मा बीमा कम्पनीहरुको पूँजीवृद्धिको योजना ल्याएको थियो ।
बीमा कम्पनीहरुले तोकिएको पूँजी पुर्याउन सक्ने अवस्था अझै देख्दिैन । अधिकाँश कम्पनीले वार्षिक साधारणसभा गर्न बाँकी छ । साधारणसभा भएपछि कतिपय कम्पनीको पुँजी पुग्ने देखिएको छ । समितिको पछिल्लो तथ्यांकअनुसार जीवन बीमातर्फ नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेसनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मात्रै पूँजी पुर्याएका छन् ।
समितिको तथ्यांक अनुसार गत आर्थिक वर्षको जेठसम्म मसान्तसम्म नेसनल लाइफले ३ अर्ब ७४ लाख रुपैयाँ पूँजी पुर्याएको छ । नेपाल लाइफले साढे ५ अर्ब रुपैयाँ पुगेको छ । नेपाल लाइफ सबैभन्दा बढी पुँजी हुने बीमा कम्पनी हो । एशियन लाईफ, एलआईसी नेपाल,गुराँस लाइफ,सूर्या लाइफले लगायतका विभिन्न कम्पनीहरुले हकप्रदको माध्यमबाट पूँजी पुर्याउने प्रयास गरिरहेका छन् ।
एसियनको ७५ लाख ४० हजार ३५२ कित्ता हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचिकृत भइसकेकोक छ । प्राइम लाइफ इन्स्योरेन्सको पुँजी १ अर्ब ७८ करोड रुपैयाँ छ । सूर्या लाइफ इन्स्योरेन्सको १ अर्ब १३ करोड रुपैया पुगेको छ । कम्पनीले ७० प्रतिशत हकप्रद र १२ प्रतिशत बोनस वितरण गरी २ अर्ब ६ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउने योजना बनाएको छ ।
त्यसैगरी, गुराँस लाइफ इन्स्योरेन्सको ६४ करोड १५ लाख रहेको छ । यस कम्पनीले आर्थिक वर्ष २०७३/०७४ को नाफाबाट ८ प्रतिशत बोनस तथा ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि अहिले पूँजी ९३ करोड ८५ लाख रुपैयाँ पुगेको छ । त्यसपश्चात शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेपछि कम्पनीको पूँजी २ अर्ब रुपैयाँ भन्दा बढी हुने छ ।
समितिले तोकेको पूँजी पुर्याँउन ८ कम्पनी हकप्रद निष्काशनको प्रकृयामा छन । तर हकप्रदपछि पनि ती कम्पनीहरुले असार मसान्तसम्म पूँजी पुर्याउन सकेनन् । नयाँ आएका १० वटा जीवन बीमा कम्पनीहरुले यस आर्थिक बर्ष भित्र पूँजी पुर्याएउनु पर्र्दैन ।
त्यसैगरी,हालसम्म संचालनमा रहेका कूल २० निर्जीवन बीमा कम्पनी मध्ये ६ वटाले कम्पनीहरुले मात्रै समितिले तोकेको चुँक्ता पूँजी पुर्याएका छन । समितिका अनुसार शिखर, हिमालय जनरल,नेको, एभरेष्ट, नेपाल इन्स्योरेन्स तथा प्रभु इन्स्योरेन्स कम्पनीले मात्रै पूँजी पुर्याएको समितिले जनाएको छ ।
समितिको तथ्यांक अनुसार शिखर इन्योरेन्स कम्पनीले १ अर्ब ५ करोड ७३ लाख, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले १ अर्ब २ करोड ६२ लाख, नेकोले १ अर्ब १७ करोड ६२ लाख र प्रभु इन्स्योरेन्स कम्पनीको १ अर्ब ५२ लाख रुपैयाँ पूँजी पुगेको छ ।
बीमा कम्पनीहरुले पूँजी वृद्धिका लागि बोनस तथा हकप्रद सेयरको साहरा लिइरहेका छन् । ‘पूँजी पुर्याउन नसक्ने कम्पनीलाई मर्जर तथा एविक्वजिशनको बाटो खुला गरेको अध्यक्ष चापागाईको भनाइ छ । समितिले जीवन बीमा कम्पनीको न्युनतम पुँजी २ अर्ब र निर्जीवनको १ अर्ब रुपैयाँ तोकेको छ ।