काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाले निजी क्षेत्रलाई प्रवाह गर्ने कर्जाको ब्याजदर घटेको छ । गत जेठसम्म कर्जाको औसत ब्याजदर १२.२० प्रतिशतमा झरेको छ । अघिल्लो आवकाे जेठमा औसत ब्याजदर १२.४२ प्रतिशत थियो ।
गत वैशाखमा १२.२३ प्रतिशत थियो । गत वैशाखको तुलनामा जेठमा ०.०३ बिन्दुले कर्जाको ब्याजदर घटेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
आधारदर (बेसरेट) कम भएपछि कर्जाको ब्याजदर घटेको हो । गत जेठमा बैङ्कहरुको आधारदर ९.४८ प्रतिशतमा झरेको छ । अघिल्लाे वर्षको सोही अवधिमा १०.४१ प्रतिशत थियो ।
राष्ट्र बैङ्कका अनुसार बैङ्कहरुको निक्षेप लागत (कस्ट अफ फण्ड) पनि घटेको छ । निक्षेप लागत, अनिवार्य नगद अनुपात,वैधानिक तरलता अनुपात र प्रशासनिक खर्च जोडेर आधारदर तय हुन्छ ।
गत जेठमा वाणिज्य बैङ्कहरुको निक्षेपको भारित औसत ब्याजदर ६.६४ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा ६.६१ प्रतिशत थियो । गएको वैशाखमा ६.६७ प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ ।
गत जेठमा ट्रेजरी विल्सको भारित औसत ब्याजदर बढेर ५.५ प्रतिशत पुगेको छ । अघिल्लाे आवको सोही अवधिमा ४.३८ प्रतिशत थियो । अन्तर बैङ्क कारोबारको औसत ब्याजदर बढेर गत जेठमा ६.९१ प्रतिशत पुगेको थियो ।
बजारमा तरलता बढेपछि जेठमा अन्तर बैङ्क ब्याजदर घटेर ३ प्रतिशत तल झरेको छ । अघिल्लाे आवको सोही अवधिमा ४.१८ प्रतिशत थियो ।
गत जेठसम्म बैङ्क तथा वित्तीय संस्थाको निक्षेप परिचालन १९ र कर्जा प्रवाह २०.८ प्रतिशत छ ।