काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा कुल वस्तु निर्यात १८ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ ।
विगतका महिनाहरुमा निरन्तर घटिरहने निर्यात यसपालि बढेको छ । राष्ट्र बैैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्षको ११ महिनाको तथ्याङ्कले मुलुकको निर्यात वृद्धि भएको देखाएको हो । यसअनुसार ११ महिनामा ८७ अर्ब ८३ करोड रुपैयाँबराबरको निर्यात भएको छ ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष ८ दशमलव ७ प्रतिशतले निर्यात बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १० प्रतिशतले वृद्धि भएको थियो । राष्ट्र बैङ्कका अनुसार गन्तव्यका आधारमा भारततर्फ ३३ दशमलव ३ प्रतिशत र अन्य मुलुकतर्फ १ दशमलव ५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा २७ दशमलव १ प्रतिशतले कमी आएको देखिएको छ ।
त्यस्तै वस्तुगत आधारमा पोलिस्टर यार्न, जुटका सामान, चाउचाउ, दाल, ऊनी, गलैंचालगायत वस्तुको निर्यात बढेको छ भने अलैंची, तयारी पोसाक, जुत्ता तथा चप्पल, छाला, पस्मिनालगायत वस्तुको निर्यात घटेको देखिएको छ ।
आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा कुल वस्तु आयात १७ दशमलव ३ प्रतिशतले बढेर १२ खर्व ९९ अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २३ दशमलव ६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १५ दशमलव १ प्रतिशत, चीनबाट भएको आयात ३० दशमलव ७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १६ दशमलव १ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, तयारी पोसाक, एमएस बिलेट, विद्युतीय सामानलगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट यातायातका साधन तथा पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, कच्चा भटमासको तेललगायतका वस्तुहरुको आयात घटेको छ ।
आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा कुल वस्तु व्यापार घाटा १२ खर्ब ११ अर्ब ९६ करोड पुगेको छ । यो घाटा १७ दशमलव २ प्रतिशतले वृद्धि भएको हो । यस अवधिमा निर्यात–आयात अनुपात ६ दशमलव ८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६ लशमलव ७ प्रतिशत थियो ।