काठमाडौ । जीवन बीमा कम्पनीहरुले धमाधम नयाँ वीमितलाई दिने बोनस दर सार्वजनिक गरिरहेका छन् । बीमा समितिको पछिल्लो तथ्यांकअनुसार आइतबारसम्म विभिन्न १३ वटा कम्पनीहरुले आर्थिक वर्ष २०७४/०७५ को नयाँ बोनस दर सार्वजनिक गरेका हुन् ।
कम्पनीहरुको बोनस दरलाई नियामक बीमा समितिले स्वीकृत गरिसकेको छ । सबैभन्दा बढी बोनस दिनेमा गुराँश लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भएको छ ।
१ वर्षअघि सञ्चालनमा आएका बीमा कम्पनीहरुले पनि ७० रुपैयाँसम्म बोनस दर घोषणा गरेका छन् । बोनसदर सार्वजनिक गर्ने बीमा कम्पनीहरुमा नेपाल लाइफ, सूर्या लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन, मेट लाइफ, प्रभु लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ, सिटिजन्स लाइफ, गुँरास लाइफ र नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलगायतका १३ कम्पनी छन् ।
एसियन लाइफ, महालक्ष्मी लाइफ, प्राइम लाइफ, रिलायवल लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर घोषणा गर्न बाँकी छ । सरकार स्वामित्वको राष्ट्रिय बीमा संस्थाले नयाँ घोषणा नगरे पनि प्रति हजार ६५ रुपैयाँका दरले बीमितलाई बोनस दिदै आएको छ । संस्थानको लेखा परीक्षणको काम बाँकी भएकाले लामो समयदेखि उसले नयाँ दर घोषणा गरेको छैन ।
नेपाल लाइफले प्रतिहजार वार्षिक न्युनतम ६२ देखि अधिकतम ८२ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । कम्पनीले न्युनतम ५ वर्षदेखि अधिकतम २५ वर्ष अवधीसम्मका लागि बोनस दर सार्वजनिक गरेको छ ।
सूर्या लाइफले बीमा अवधि अनुसार न्यूनतम प्रति हजारमा ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनस दिने भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशनले न्यूनतम ६६ देखि अधिकतम ८० रुपैयाँसम्म, मेट लाइफले ५० देखि ८५ रुपैयाँ बोनस दिने घोषणा गरेका छन् ।
त्यस्तै,प्रभु लाइफले प्रतिहजार न्यूनतम ३० देखि अधिकत्तम ७० रुपैयाँ, सन नेपाल लाइफले प्रतिहजार न्यूनतम २० देखि अधिकतम ७० रुपैयाँ, आइएमई लाइफले २५ देखि अधिकतम ७० रुपैयाँसम्म, ज्योति लाइफले ४० देखि ७० रुपैयाँसम्म बोनस दिने भएका छन् ।
रिलायन्स लाइफले बीमितलाई न्यूनतम ३५ देखि अधिकतम ७० रुपैयाँसम्म, सानिमा लाइफले ३५ देखि ६५ रुपैयाँसम्म, सिटिजन लाइफले प्रतिहजार न्यूनतम ४० देखि अधिकतम ७० रुपैयाँसम्म, गुराँस लाइफले प्रतिहजार न्यूनतम ५१ देखि अधिकतम ८७ रुपैयाँ नेसनल लाइफले ६३ देखि अधिकतम ८२ रुपैयाँसम्म र नेसनल लाइफले ८२ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको समितिले जनाएको छ ।
बीमा कम्पनीहरुले हरेक वर्ष बीमित ग्राहकलाई दिने बोनस दर घोषणा गर्दै आएका छन् । बीमा कम्पनीहरुले आफुले आर्जन गरेको कुल बीमाङ्कको रकममा बोनसदर निर्भर रहने गर्छ । मृत्युदर, बीमा कम्पनीको खर्च र भविष्यमा तिर्नुपर्ने ब्याज जस्ता सम्पूर्ण रकमहरु कटाएर निर्धारण गरिएको हुन्छ ।