काठमाडौं । ट्रस्ट रिसिप्ट लोन (टीआर) बन्द गराउने वा नगराउने भन्ने विवाद चुलिँदै गएपछि मौद्रिक नीति आउन ढिलाई भएको छ ।
अटोमोबाइल व्यवसायी र बैङ्कर मिलेर टीआर लोन बन्द गराउन नहुने भन्दै लविङमा लागेपछि मौद्रिक नीति आउन केही समय पर धकेलिएको राष्ट्र बैङ्क स्रोतको दाबी छ ।
राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत टीआर लोन बन्द गराउन लागेपछि बैङ्करदेखि व्यवसायीसम्म त्यसको विरोधमा उत्रिएका हुन् ।
टीआर लोन बन्द गराउँदा बैङ्कलाई नाफामा गम्भीर धक्का लाग्ने र व्यवसायी आफैँले सम्पूर्ण रकम हालेर गाडी किन्नुपर्ने भएकाले बैङ्कर र व्यवसायी मिलेर टीआर लोन बन्द गराउन नहुने पक्षमा उभिएका हुन् ।
बैङ्कले अहिले पनि सबैभन्दा बढी नाफा टीआर लोन उपलब्ध गराएर कमाइरहेका छन् । त्यही भएर उनीहरु पनि टीआर लोन बन्द नगराउन लागिपरेका छन् ।
सतहमा अटोमोबाइल व्यवसायीले विरोध गरे पनि त्यसका पछाडि बैङ्कहरु आफैँ लागेको स्रोतको दाबी छ । व्यवसायी र बैङ्करको चर्को विरोधपछि राष्ट्रबैङ्कले टीआर लोन पूर्ण रुपमा बन्द नगराउने पक्षमा पुगेको छ ।
‘बैङ्कले ९० प्रतिशतसम्म टीआर लोन दिँदै आएका थिए । त्यसमा केही कम गर्न सक्छ । तर, पूर्ण रुपमा नहटाउने अर्थमन्त्री डा.युवराज खतिवडाले प्रतिबद्धता जनाएका छन् । त्यसमा नेपाल राष्ट्र बैङ्कका गभर्नर पनि सकरात्मक हुनुहुन्छ’ एक अटोमोबाइल व्यवसायीले भने, ‘जसरी बाहिर समाचार आएको छ, त्यो हुँदैन ।’
राष्ट्र बैङ्कले टीआर लोनमा कडाई गरेर बैङ्क तथा वित्तीय संस्थालाई उत्पादनमुलक क्षेत्रमा ऋण प्रवाह गराउने उद्देश्य लिएको थियो । अहिले पनि वार्षिक रुपमा झण्डै-झण्डै डेढ खर्ब रुपैयाँ टीआर लोनको रुपमा बैङ्कबाट जाने गरेको छ ।