रोकिएन अवैध हुण्डीको कारोवार, गतवर्ष १३ जनाविरुद्ध मुद्दा दायर

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २२, बुधबार,०९:३७:AM  
रोकिएन अवैध हुण्डीको कारोवार, गतवर्ष १३ जनाविरुद्ध मुद्दा दायर

वीरगञ्ज । पर्सा प्रहरीले अघिल्लो आर्थिक वर्षमा वीरगञ्जबाट हुण्डीको कारोवार गर्ने मुख्य नाइकेसहितका व्यक्तिलाई पक्राउ गरेपछि त्यस्ता व्यक्ति चाँडै पैसा कमाउने उद्देश्यअनुरुप उक्त धन्दामा लागेको खुलासा भएको छ ।

पैसा स्रोत खुलाउनु नपर्ने र भनेको बेला एजेन्टमार्फत अन्तर्राष्ट्रियस्तरमा सजिलै पैसा पठाउन सकिने भएकाले अवैधरुपमा हुण्डीको धन्दा फष्टाउँदै गएपछि पर्सा प्रहरीले यस प्रकारको अवैध धन्धालाई निरुत्साहित पार्न सादा पोशाकमा प्रहरी परिचालन गरेको छ ।

आव २०७५/७६ मा अवैध हुण्डी कारोवार तथा विदेशी मुद्रा अपचलन गरेको अपराधमा राजश्व अनुसन्धान कार्यालय पथलैयाले १३ जनालाई प्रतिवादी बनाई अवैध हुण्डी कारोवार तथा विदेशी मुद्रा विनिमयसम्बन्धी मुद्दा दर्ता गरेको छ । 

उक्त मुद्दामा १६ अर्ब ६६ करोड चार लाख ३७ हजार ६५९ रुपैयाँ बिगो र सजायसम्बन्धी मुद्दा दायर गरेको राजश्व कार्यालयका सूचना अधिकारी मिराज शर्माले बताए । 

मुद्दा दायर गरेका अभियुक्तसँग २९ लाख ९५ हजार ९३४ रुपैयाँ धरौटी रकम माग गरेपछि अभियुक्तले सोहीअनुसारको धरौटी रकम दाखिला गरे पनि विभिन्न अदालतमा सो मुद्दा विचाराधीन अवस्थामा रहेको जनाइएको छ ।

यसैगरी राजश्व चुहावट गर्ने ३९ जनालाई प्रतिवादी बनाई १५ मुद्दा दर्ता गरेको देखिन्छ । उनीहरुसँग एक अर्ब १६ करोड ६२ लाख ७८ हजार ७८२ रुपैयाँ बिगो दाबी गरिएको छ भने दुई अर्ब ४२ करोड ४५ लाख ९० हजार ८८२ रुपैयाँ सजाय रकम माग गरेको छ ।

उनीहरुसँग १२ करोड ९७ लाख ३४ हजार ९१९ रुपैयाँ धरौटी रकम माग गरिएकामा सात करोड ३४ लाख ७१ हजार ३९२ रुपैयाँ धरौटीबापतको रकम दाखिला भइरकेको छ ।

यसैगरी सो कार्यालयले देशभरका भन्सार कार्यालयलाई पत्र लेखी अघिल्लो आवमा भन्सार छली गरी राजश्व चुहावट गर्नेसँग ४० लाख ६२ हजार ५६४ रुपैयाँ असुल गर्न तथा कर कार्यालयलाई पत्र लेखी १२ लाख ९९ हजार ७१४ रुपैयाँ असुल गर्न भनेको छ । 

वीरगञ्ज नगरक्षेत्रमा हुण्डीको कारोवार गर्ने गिरोह भित्रीरुपमा अझै सक्रिय भएकाले प्रहरीले अनुसन्धान गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top