जथाभावी चिउरी कटानले घ्यू-मह उत्पादनमा समस्या

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २६, आइतबार ,०३:१२:PM  
जथाभावी चिउरी कटानले घ्यू-मह उत्पादनमा समस्या

जाजरकोट । जथाभावी चिउरीको रुख काट्दा मौरीको आहारा र घ्यू उत्पादनमा कमी आएको छ । चिउरीको बिजुलाबाट निकालिने घ्यू चिउरीको कटानसँगै उत्पादनमा कमी आएको हो । जिल्लाका अधिकांश सामुदायिक वनमा पाइने चिउरी वन दैनिक काट्दा समस्य भएको हो ।    
    
घर निर्माणका लागि काठ, पशुचौपायलाई घाँस र वृक्षरोपण नगर्दा चिउरी बिरुवा कम हुँदै आएको हो । मौरीको मुख्य आहाराको रुपमा रहेको चिउरीको फूल रुख कटानसँगै लोप भएको छ । पाँच वर्षअघि जताततै पाइने चिउरीका रुख अहिले कम हुँदै गएका छन् ।    
    
चिउरीको अभावमा मौरीको मुख्य आहारा समस्यामा परेको प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना मौरी जोन विभागका प्रमुख टङ्क रिजालले जानकारी दिए । जाजरकोटमा मौरी जोन लागू भए पनि चिउरीको कटानका कारण मह उत्पादनमा समस्य आएको उनको भनाइ छ । चिउरी संरक्षण गरी मह उत्पादन बढाउनुका साथै चिउरी घ्यू उत्पादन बढाउनुपर्ने उनको भनाइ छ ।    
    
चिउरीको बिजुलाबाट घ्यू उत्पादन गरी यहाँका स्थानीयवासीले केही वर्ष पहिले लाखाैं रकम आम्दानी गदै आएकोमा अहिले चिउरी लोप भएसँगै घ्यू बनाउने बिजुला नहुँदा आम्दानी घटेको नलगाड नगरपालिका– ७ बफेलगाउँका शिक्षक भवानीप्रसाद शर्माले बताए । उनले भने, “घर निर्माणका लागि काठ र पशुचौपायलाई घाँसका रुपमा चिउरी प्रयोग गर्दा दैनिक मासिँदै गएको छ ।”

वर्षेनी विभिन्न बिरुवाको वृक्षरोपण गरेपनि चिउरीको वृक्षरोपण नगर्दा वर्षेनी कम हुँदै गएको हो । चिउरी बहुउपयोगी बिरुवा भए पनि संरक्षणतर्फ ध्यान कसैले दिएको देखिदैन, यो दुःखको कुरा हो नलगाड नगरपालिका नगरप्रमुख टेकबहादुर रावलले भने, “डिभिजन वन कार्यालयसँग सल्लाह गरेर हामी संरक्षणका लागि विशेष योजना थाल्छौँ ।” सामुदायिक वनमा रहेका चिउरीका रुख काट्न प्रतिबन्ध गरिए पनि सामुदायिक वन समूहकै पदाधिकारीसँग मिलेर दैनिक चिउरीका रुख काटेको देखिन्छ ।    
    
जिल्लाका छेडागाड नगरपालिका, नलगाड नगरपालिका, भेरी नगरपालिकामा चिउरी जङ्गल बढिरहेको छ । अन्य काठ भन्दा चिउरीको काठ बलियो हुने भए पनि लुकिछिपी चिउरीको रुख काटी घर निर्माणमा प्रयोग हुँदै आएको छ ।    
    
के छ त चिउरीको उपयोगिता ?
    
चिउरीबाट मौनवत्ती, साबुन, क्रिम, जुस र विभिन्न कस्मेटिक सामग्री बनाउन समेत प्रयोग गरिन्छ । चिउरीको पाटबाट टपरी, घाँस, घीउ निकाल्दा बाँकी रहेको पिना अत्यन्तै उपयोगी रुपमा प्रयोग गर्न सकिन्छ । चिउरीको फल मानिसका लागि खानाको रुपमा समेत प्रयोग गरिँदै आएको छ ।    
    
चिउरीे रैथाने वनस्पति हो । चिउरी वृक्षलाई मकवानपुरका आदिवासी चेपाङले आफ्नो संस्कृतिसँग जोडेका छन् । चेपाङ समुदायमा छोरीको विवाह गर्दा चिउरीको बिरुवा दाइजो दिने संस्कृति छ । चिउरीबाट व्यावसायिक लाभ लिने जमर्को भने दाङ, सल्यान, प्यूठान, रुकुम, रोल्पा, जाजरकोट र सुर्खेतका पहाडमा भएको देखिन्छ ।    
    
भदौ–असोजमा पात झरेर वसन्तमा पालुवा फेर्दै लटरम्म फुल्नेफल्ने चिउरीबाट अहिले वाइन, जुस, साबुन, घीउ, क्रिम, जाम र महदेखि प्राङ्गारिक मल तथा विषादीसम्मको उत्पादन शुरु भए पनि संरक्षण नहुँदा लोप भएको अवस्था छ ।    
    
चिउरीको पात र काठबाट टिकाउ किसिमको दुनाटपरी तथा फर्निचर बन्छ । बाँकी उत्पादन यसको रसिलो फल र त्यसभित्रको बिजुला (कोया) बाट हुन्छ । सदियौंदेखि जङ्गलमा झर्दै, खेर जाँदै गरेको चिउरीको बिजुला बटुलेर धेरैले राम्रो आम्दानी गरेका छन् ।

दिनभरमा एक जनाले २५ किलोसम्म बिजुला टिप्छन् । यो मौसमी काम भए पनि गाउँका गरीब घरपरिवारलाई राम्रै आम्दानी हुने गरे पनि पछिल्लो समय कमी हुँदै गएको छ । जाजरकोटमा कति प्रतिशत चिउरी छ भन्ने एकिन तथ्याङ्क भने भेटिएको छैन ।    
    
जाजरकोट जिल्ला समुद्र सतहबाट ६१० देखि ५,४३५ मिटर उचाइसम्म फैलिएको छ । जिल्लामा कूल वनजङ्गलले ढाकेको क्षेत्रफल एक लाख २४ हजार ५९८ हेक्टर छ ।    –हेमन्त केसी/रासस

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');