दसैंसम्म चिनी आयातको परिमाणात्मक बन्देज कायमै

३० हजार टन अपुग चिनी सरकारी निकायमार्फत खरिद गर्ने सङ्केत

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २६, आइतबार ,०४:०५:PM  
दसैंसम्म चिनी आयातको परिमाणात्मक बन्देज कायमै

काठमाडौं । आगामी दसैंसम्मका लागि चिनी आयातको परिमाणात्मक बन्देज कायमै रहने भएको छ । अहिले चिनी उद्योगमा दसैंसम्म पुग्ने चिनी भएकाले आयात बन्देज कायमै हुने गरी गृहकार्य भइरहेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

लामो समयदेखि चिनीको आयातमा परिमाणात्मक बन्देज भएको र अपुग चिनी आयात गर्नेबारे मन्त्रालयले आधिकारिक निर्णय भने गरेको छैन । मन्त्रालयका एक कर्मचारीका अनुसार, दसैंसम्म चिनीको आयात नखुलाउने र केही अपुग चिनी सरकारी निकायमार्फत नै खरिद गरिने बुझिएको छ ।

यता, चिनी उद्योगीले भने मौजदात चिनी बिक्री नभएकाले तत्काल आयात खुलाउन नहुने गरी सरकारलाई दबाब दिँदै आएका छन् । केही अपुग चिनीमात्रै आयात गर्न कोटा निर्धारण गर्नुपर्ने उद्योगीको माग छ । 

अहिले झन्डै ८५ हजार मेट्रिक टन चिनी मौजदात रहेको चिनी उद्योग सङ्घले जनाएको छ । मङ्सिरपछि पुनः नयाँ चिनी क्रसिङ हुने हुँदा त्यसबेलासम्मका लागि २० हजार टन मात्रै चिनी आयात गरे पुग्ने चिनी उद्योग सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले बताए । स्वदेशी चिनीको उत्पादन लागत महँगो भएकाले सरकारले खुद्रा मूल्य तोक्नुपर्ने उनले बताए । ‘दसैंसम्मलाई पुग्ने चिनी अझै स्टक छ । बिक्री भएको छैन,’ उनले भने, ‘अहिले नै चिनी आयात खुलाउनुपर्छ भन्नेमा छैनौं । अपुग २० हजार मेट्रिक टन मात्रै आयात गरे पुग्छ ।’ 

अन्य वस्तुको मूल्य बढेसँगै चिनीको उत्पादन लागत बढेकाले मूल्य बढाउनुपर्ने उनको माग छ । 

वाणिज्य तथा आपूर्ति उपभोक्ता हित संरक्षण विभागले भने तत्काल अपुग हुने चिनी मात्रै खरिद गर्न सकिने विकल्प रहेको बतायो । दसैंसम्मका लागि पुग्ने चिनी भएको र बाँकी ३० हजार टन चिनी अपुग हुने देखिएमा सरकारी निकायअन्र्तगत खरिद गर्न सकिने विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए ।

उनले साल्ट्र टेडिङ वा खाद्य संस्थानमार्फत अपुग चिनी आयात गर्न सकिने विकल्प रहेको बताए । उनका अनुसार, केही व्यापारीले आयात बन्देज भएको बहानामा मूल्य बढाएको गुनासो आएको बताए । चिनीको मूल्य वृद्धिबारे चिनी उद्योगीसँग छलफल गर्ने गौचनले बताए । 

गत आवको असारसम्म २ लाख ३० हजार टन चिनी उत्पादन भएको थियो । मुलुकभर अहिले २ लाख ६० हजार मेट्रिक टन चिनीको माग छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');