लेखा समितिको निर्देशनसँगै चिनियाँ लगानीको हुवासिन सिमेन्टको निर्माण अनिश्चित

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २७, साेमबार,०९:३७:AM  
लेखा समितिको निर्देशनसँगै चिनियाँ लगानीको हुवासिन सिमेन्टको निर्माण अनिश्चित

काठमाडौं । सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले जग्गा भाडासम्बन्धी सम्झौता खारेज गर्न निर्देशन दिएसँगै चिनियाँ लगानीको हुवासिन सिमेन्टको निर्माण अनिश्चित बनेको छ । 

लेखा समितिले हुवासिन सिमेन्टले उद्योग स्थापनाका लागि धादिङको बेनिघाट रोराङ गाउँपालिकासँग गरेको जग्गा भाडामा लिनेसम्बन्धी सम्झौता खारेज गर्न निर्देशन दिएको थियो । सम्पूर्ण प्रक्रिया पूरा गरेर निर्माण शुरु गरिए पनि लेखा समितिको निर्देशनसँगै करीब २४ अर्ब लगानीको परियोजना अनिश्चित बनेको छ । 

हुवासिन सिमेन्टले गाउँपालिकासँग करीब १०० रोपनी जग्गा ५० वर्षका लागि भाडामा लिएर उद्योग सञ्चालन गर्ने तयारी गरेको थियो । धादिङ र मकवानपुर जिल्लाको सीमा क्षेत्रमा पर्ने पानीखर्कका हुवासिन सिमेन्टले उद्योगका लागि पूर्वाधार निर्माण गरिरहेको छ । 

सो उद्योगमा चिनियाँ प्रवद्र्धकको करिब ८५ प्रतिशत र नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष सुरज वैद्यसमूहको १५ प्रतिशत लगानी रहेको छ ।  सो उद्योग एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । केही महिना अगाडि सभाुमख कृष्णबहादुर महराले सो उद्योगको शिलान्यास गरेका थिए । 

गाउँपालिका र उद्योगबीच जग्गा भाडामा लिनेसम्बन्धी भएको सम्झौता कानून विपरीत भएको भन्दै संसद्को लेखा समितिमा उजुरी परेको थियो । समितिले सांसद लेखराज भट्टको संयोजकत्वमा उपसमिति नै गठन गरेको थियो । उपसमितिले स्थलगत अवलोकन गरेर सम्झौता रद्द गर्न समितिसमक्ष सिफारिश गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top