हस्पिटालिटीमा सानिमा ग्रुपको इन्ट्री, धुम्बाराहीमा २ अर्ब ९० कराेडमा होटल ‘अकामा’

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २७, साेमबार,०२:५३:PM  
हस्पिटालिटीमा सानिमा ग्रुपको इन्ट्री, धुम्बाराहीमा २ अर्ब ९० कराेडमा होटल ‘अकामा’

काठमाडौं । हाइड्रो, बैङ्क र इन्सुरेन्समा अब्बल मानिएको सानिमा ग्रुपले होटल क्षेत्रमा पनि इन्ट्री गरेको छ । काठमाडौंको धुम्बाराहीमा होटल ‘अकामा’ सुरु गरेसँगै सानिमा ग्रुप हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेको हो ।

करिब २ अर्ब ९० करोड रुपैयाँमा निर्माण गरिएको सो होटलमा एक रातमा २ सय १५ जना बस्न सक्छन् । एक सय ८ ओटा कोठा रहेको होटलमा सुप्रियर ९५, डिलक्स ६, डिलक्स सुइट ४, फ्यामिली सुइट २ र एउटा प्रेसिडेन्टर सुइट छ । 

संस्कृतमा अकामालाई ‘वर्चस्व’ भनिन्छ । सानिमाले हात हालेको ठाउँमा आफ्नो वर्चस्व कायम गर्ने उद्देश्यले होटलको नाम नै अकामा राखिएको हाेटलका अध्यक्ष विनयकुमार श्रेष्ठले जानकारी दिए । 

यो पनि पढ्नुहोस् : जलविद्युतमा आक्रामक बन्दै सानिमा ग्रुप, ५०० मेगावाटका आधा दर्जन आयोजना निर्माण गर्दै​

ग्रुपले सानिमा बैङ्क, सानिमा इन्सुरेन्स र मेडिकेयर हस्पिटललगायतका क्षेत्रमा लामो समयदेखिी काम गर्दै आएको छ । सेवा क्षेत्रमा पनि आफूहरुको आवश्यकता महसुस गरेर होटल सञ्चालनमा ल्याइएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

होटलमा विश्वस्तरीय आधुनिक सेवालाई नेपाली मौलिकतामा ढाल्ने प्रयास गरिएको छ । होटलमा आउने पाहुनालाई स्थानीय नेवारी र हिमाली सँस्कृतिको मिश्रण अनुभव होस् भनेर गम्भीरतापूर्वक ध्यान दिइएको होटलले जनाएको छ ।  

विश्वस्तरीय सेवासुविधासहितको सो होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र ४ किमीको दुरीमा छ । अन्य पर्यटकीय स्थलहरुमा पुग्न सहज हुने तथा सहरको ट्राफिक जाम छल्न उपयुक्त हुने हिसाबले यसलाई रिङ्रोड नजिकै निर्माण गरिएको होटलका जनरल म्यानेजर राजु श्रेष्ठले जानकारी दिए ।

होटल अकामामा समसामायिक डिजाइनमा स्थानीयपनको आभास दिने आधुनिक तथा विशेष आवासको व्यवस्था छ । शान्त एवम् रमणीय वातावरणमा सुन्दर र आरामदायी कोठामा अतिथिले आफ्नो आवश्यकताअनुसार आधुनिक उपकरणहरु सहजै उपभोग गर्न सक्छन् । 

होटल अकामाको ९औं तल्लामा ‘चाओ बेला चाइनिज–इटालियन रेस्टुरेन्ट’मा ग्राहकले चौतर्फी मनोरम दृश्यको अवलोकन गर्दै अन्तर्राष्ट्रियस्तरको खानाको स्वाद लिन सक्छन् । 

होटलमा प्रतीक्षालय, कफी सप, पुल बार तथा रेस्टुरेन्टको सुविधा सहजरुपमा उपलब्ध छन् । होटल अकामामा ५ ओटा अलग अलग डिजाइनमा बनेका हल छन् । ती हलहरुमा ग्राहकको इच्छाअनुसार विवाहलगायत सामाजिक समारोह, सम्मेलन, बैठक, कार्यशाला गोष्ठी तथा विविध किसिमका कार्यक्रम गर्न सकिने म्यानेजर श्रेष्ठको भनाइ छ । 

१५ देखि ५०० जनासम्मलाई भोज वा अन्य कार्य व्यवस्थापनका  लागि होटल अकामा सक्षम छ । सुन्दर स्विमिङ पुल र पुलसँगै रहेको बार, यस होटलका मुख्य आकर्षण हुन् । यसका साथै  प्रतिष्ठित अमेरिकन ब्रान्ड साइबेक्सका उपकरणले सजिएको व्यायामशालामार्फत ग्राहकले गुणस्तरीय सेवा लिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पर्यटन बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');