गौतमबुद्ध विमानस्थलबाट उडान गर्न भारतले दियो दुई ओटा हवाई रुट, आइकाओले सूचीकरण गर्दै 

अन्य दुई रुटका लागि सम्बन्धित कार्यालयका अधिकारीबीच छलफल

account_box सुवास योञ्जन ,
प्रकाशित: २०७६ साउन २८, मङ्गलबार,१२:२६:PM  
गौतमबुद्ध विमानस्थलबाट उडान गर्न भारतले दियो दुई ओटा हवाई रुट, आइकाओले सूचीकरण गर्दै 

काठमाडौं । निर्माणाधीन गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न भारतले दुई ओटा हवाई रुट उपलब्ध गराएको छ । 

लामो समयको वार्ता र छलफलपछि भारतले भैरहवा र जनकपुरबाट प्रवेश गर्ने दुई ओटा रुटमा सहमति दिएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । नेपालले चार ओटा हवाई रुट माग्दै आएको भए पनि तत्कालका लागि दुई ओटामा सहमति भइसकेको उनले बताए । 

अन्य दुई ओटा रुटका लागि दुई देशका प्राविधिक र सम्बन्धित कार्यालयका अधिकारीबीच छलफल भइरहेको मन्त्री ज्ञवालीले सुनाए । क्यापिटल नेपालसँग कुरा गर्दै मन्त्री ज्ञवालीलले अब गौतमबुद्ध विमानस्थलका लागि हवाई रुटको समस्या नभएको स्पष्ट पारे ।

नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का महानिर्देशक राजन पोखरेलले नेपाल र भारतले संयुक्त रुपमा हवाई रुटमा सहमति गरेर अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)मा गत फेब्रुअरीमै पठाएको जानकारी दिए ।

आइकाओले  अन्तर्राष्ट्रिय रुट सञ्जालमा समावेश गर्न हवाई रुटको विषयमा थप पुष्टाइँ गर्न भन्दै विभिन्न कागजपत्र मागेको बताउँदै उनले ती डकुमेन्ट पनि पठाइसकेको जानकारी दिए । 

अन्तर्राष्ट्रिय सञ्जालमा सूचीकृत हुन कुनै समस्या नभएकाले विमानस्थल सञ्चालन हुनु अगावै रुटको टुङ्गो लागि सक्ने महानिर्देशक पोखरेलको भनाइ छ ।

नेपाल–भारत सीमा नजिक रहेको गौतमबुद्ध विमानस्थलबाट उडान गर्दा भारतको भूमि प्रयोग गर्नुपर्ने अवस्था छ । भारतले रुट नदिएसम्म विमानस्थलबाट उडान गर्न समस्या हुने थियो । आगामी डिसेम्बरभित्रमा सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा निर्माण भइरहेको सो विमानस्थलको भौतिक संरचनाको काम ७३ प्रतिशत सकिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थलको काम द्रुत गतिमा सक्न निर्देशन दिएका छन् । केहि दिनअघि स्थलगत अध्ययन गरेर फर्किएका पर्यटन मन्त्री भट्टराईले त्यहाँ देखिएका समस्या समधान गर्न छलफललाई तीव्र पारेका छन् ।

उडान सहजताका लागि नेपाल विद्युत् प्राधिकरणले विमानस्थलका लागि एक महिना भित्रमा ‘डेडिकेटेड’ लाइन दिने सहमति भइसकेको छ । त्यस्तै सडक आसपासमा रहेका विजुलीका पोल हटाउने सहमति पनि भएको छ । मन्त्री भट्टराईले विमानस्थलको भौतिक संरचना निर्माणलाई तीव्र पार्न निर्देशन दिँदै लाइटिङको कामलाई पनि अगाडि बढाउन भनेका छन् ।

केही महिनाभित्र विमानस्थल सञ्चालनको मोडालिटी तयार पारी नेपालले नै सञ्चालन गर्ने की विदेशी कम्पनीलाई दिने भन्ने विषयमा पनि टुङ्गोमा पुगिने मन्त्री भट्टराईको भनाइ छ । 

सुवास योञ्जन

क्यापिटल नेपालका संवाददाता हुन्

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पूर्वाधार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');