काठमाडौं । विद्यालयमा शौचालय निर्माणको लागि हिमाल पावर लिमिटेडले दिएको रकम त्रिकुटेश्वर माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शम्भु फुयाँलले आफैंले राखेका छन् ।
तामाकोसी गाउँपालिका-५ शहरेमा रहेको त्रिकुटेश्वर माध्यमिक विद्यालय किर्नेमा शौचालय निर्माणको लागि आर्थिक सहयोग माग गरेपछि कम्पनीले नगद दिन नसक्ने र कवाडी सामान बिक्री गरेर निर्माण गर्न भन्दै केहि सामानहरु दिएको थियो । कवाडी सामान बिक्रीवापत करिब १० लाख रुपैयाँभन्दा बढी आम्दानी भए पनि के कति आयो भन्ने सार्वजनिक गरिएको छैन् ।
कम्पनीले दिएको कवाडीका सामान विद्यालयले बिक्री गरेपनि त्यसबापत आएको सबै रकम अध्यक्ष फुयाँल आफैँले राखेको खुलासा भएको छ । विद्यालयको नाममा आएको सहयोग रकम विद्यालयको खातामा जम्मा हुनुपर्नेमा अध्यक्ष आफैँले राखेको भन्दै केही स्थानीयहरुले विरोध जनाउदै आएका छन् ।
विद्यालयका प्राधानध्यापक हरिशंकर फुयाँलले पटक-पटक सो रकम विद्यालयको खातामा राख्न अनुरोध गरेपनि अटेर गर्दै आएको जानकारी दिए । ‘विद्यालयको नाममा आएको रकम विद्यालयकै खातामा हुनुपर्ने हो, प्रअ फुयाँल भन्छ्न, ‘तर अध्यक्षज्यूले भोलि-भोलि भन्दै टार्दै आउनु भएको छ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुयाँलले भने विद्यालयमा शौचालय निर्माण भइरहेकोले सो रकम त्यसैमा खर्च गरिएको जानकारी दिए । ‘काम गर्नेहरुलाई तत्कालै पैसा दिनु पर्ने भएकोले खातामा पैसा जम्मा गर्न नभ्याएको हो’, अध्यक्ष फुयाँलले भने, ‘भदौमा निर्माण सकिएपछि सार्वजनिक सुनुवाइ गरेर फरफराक गर्छु ।’
कम्पनीका प्रशासन शाखाका चमन विकले विद्यालयलाई कवाडी सामान दिएको स्वीकार गरे । उनले नगद रकम दिन नसक्ने अवस्था रहेकोले आफुहरुसँग रहेको कवाडीका सामानहरु दिएको जानकारी दिए ।
यसैबीच सहरेका स्थानीय भुवन केसीले विद्यालयको नाममा आएको रकम अध्यक्षको खातामा राख्नु गम्भीर लापरबाही भएको भन्दै सम्बन्धित निकायले छानविन गरेर गर्नुपर्ने बताए । लामो समयअघि विद्यालयको नाममा आएको रकम अध्यक्षले आफ्नो गोजीमा राखेर मनोमानी ढंगले खर्च गर्न नहुने उनको भनाइ छ ।
विद्यालयमा शौचालय निर्माण गरिएको भएपनि हाल सो शौचालय भत्किसकेको स्थानीयहरुको भनाइ छ । विद्यालयको नाममा आएको कवाडीका सामानहरु लिलामीमा प्रधानध्यापकको स्वीकृती बिना बिक्री वितरण गर्न नसक्ने भन्दै प्रधानाध्यापकको पनि संलग्नता भएको हुन सक्ने स्थानीयहरुको आरोप छ ।