हिमालयन बैङ्कको स्वामित्व सीडीसीमा हस्तान्तरण हुन अझै २ महिना लाग्ने, डीडीए जारी

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २९, बुधबार,०२:१३:PM  
हिमालयन बैङ्कको स्वामित्व सीडीसीमा हस्तान्तरण हुन अझै २ महिना लाग्ने, डीडीए जारी

काठमाडौं । हिमालयन बैङ्कको स्वामित्व पाकिस्तानको हबिब बैङ्कबाट बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन ग्रुप (सीडीसी) मा हस्तान्तरण हुन अझै २ महिना लाग्ने भएको छ । हाल हिमालयनको चलअचल सम्पत्ति दायित्व मूल्याङ्कन (डीडीए) जारी रहेकाले स्वामित्व हस्तान्तरण गर्न समय लाग्ने भएको हो । 

हाल बैङ्कको डीडीएको काम भइरहेकाले ढिलोमा तिहारपछिसम्म स्वामित्व सीडीसीमा हस्तान्तरण हुने सम्भावना रहेको हिमालनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोकशम्शेर राणाले बताए । 

हबिबले सीडीसीसँग प्रतिकित्ता २.५२ अमेरिकी डलर अर्थात हालको प्रचलित मूल्यअनुसार २८० रुपैयाँमा खरिदबिक्रीको सहमति गरिसकेको छ । डीडीए प्रतिवेदन आएपछि औपचारिकरुपमा दुई बैङ्कबीच हिमालयनको सेयर किनबेच सम्झौता हुने राणाले जानकारी दिए । 

हबिब र सीडीसीबीच हिमालयनको २० प्रतिशत स्वामित्व खरिदबिक्रीमा सहमति भइसकेको छ । हिमालयनको दोस्रो बजारमा सेयर मूल्य प्रतिकित्ता ५५४ रुपैयाँ छ ।

सहमतिअनुसार सीडीसीले हिमालयनमा रहेको हबिबको १ करोड ७० लाख ४० हजार ५११ कित्ता सेयर किन्ने सहमति गरेको छ । प्रतिकित्ता २८० रुपैयाँलाई मान्दा सीडीसीले लिने २० प्रतिशत स्वामित्वको मूल्य ४ अर्ब ७७ करोड १३ लाख ४३ हजार रुपैयाँ हुने छ  । 

बेलायतको सीडीसीले हबिबको संस्थापक स्वामित्व खरिद गरेर औपचारिक रुपमा नेपालको वित्तीय क्षेत्रमा प्रवेश गर्न लागेको हो । सीडीसीले कोरियन र नेपाली लगानीमा निर्माण हुन लागेको २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा ५ करोड डलर अर्थात ५ अर्ब रुपैयाँ ऋण लगानी गर्नका लागि सहमति जनाएको छ । हबिबको अन्तर्राष्ट्रिय कारोबार सङ्कटमा परेपछि विश्वमा भएको सबै लगानी बिक्री गर्न लागेको हो । 

हबिबले नेपालमा मात्र हैन अन्य मुलुकका बैङ्कमा भएको स्वामित्वसमेत बिक्री गरिसकेको छ । 

सीडीसीले एनएमबी बैङ्कलाई १ अर्ब ५० करोड रुपैयाँ ऋण दिइसकेको छ । सीडीसी बेलायत सरकारको पूर्ण स्वामित्वको बैङ्क हो । सीडीसीले विभिन्न मुलुकलाई ऋण दिँदै आएको छ । 

गत आर्थिक वर्षमा हिमालयनले खुदनाफा ४६ प्रतिशत बढाएको छ । हिमालयनमा कर्मचारी सञ्चय कोष र खेतान ग्रुपको पनि स्वामित्व छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप