काठमाडौं । निष्क्रिय कर्जा बढेपछि नेपाल इन्भेस्टमेन्ट बैङ्कको नाफा घटेको छ । इन्भेस्टमेन्टको नाफा ७ प्रतिशत घटेर ३ अर्ब ४१ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा इन्भेस्टमेन्टले ३ अर्ब ६५ करोड ९३ लाख रुपैयाँ खुदनाफा गरेको थियो ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष नाफा २४ करोड ३७ लाख रुपैयाँ घटेको बिहीबार सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ ।
नाफा घटेपछि इन्भेस्टमेन्टको लाभांश दिने क्षमता १ अर्ब ३९ करोड रुपैयाँमा झरेको छ । गत असारसम्म बैङ्कको निष्क्रिय कर्जा बढेर २.७८ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष १.३६ प्रतिशत मात्र थियो ।
अघिल्लो वर्षको भन्दा बैङ्कको निष्क्रय कर्जा १.४२ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाशमा निष्क्रिय कर्जा ३ प्रतिशत रहेकोमा गत असारमा केही घटेको छ । ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएमा नियामक नेपाल राष्ट्र बैङ्कले कारबाही गर्छ । यसअघि इन्भेस्टमेन्ट निष्क्रिय कर्जा १ प्रतिशत भन्दा कम हुन्थ्यो ।
ठूला ऋणीबाट करिब अर्बौ रुपैयाँ ऋण नउठेपछि नेपाल इन्भेस्टमेन्टको नाफामा गम्भीर धक्का लागेको हो । इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्री (सीएमएसी) लगायत अन्नपूर्ण सुगर मिलका सञ्चालक आरके अग्रवाल र कोइला आयातकर्ता व्यापारी श्याम मलले समयमा कर्जा नतिरेपछि खराब कर्जा बढेको हो । खराब कर्जा बढेर आम्दानी रकम प्रोभिजनिङ गर्नुपर्दा इन्भेस्टमेन्टको नाफा खुम्चिएको हो ।
सीएमसीको कार्यसम्पादन जमानतको काउन्टर ग्यारेन्टीबापतको करिब १ अर्ब ९६ करोड, आरके अग्रवालको अन्नपूर्ण सुगरले १ अर्ब २५ करोड रुपैयाँ र कोइला आयातकर्ता व्यापारी मलले १ अर्ब २५ करोड रुपैयाँ ऋण नतिर्दा समस्या आएको हो ।
सीएमसी काममा नफर्केपछि १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको प्रवद्र्धक तनहुँ हाइड्रो लिमिटेडले सीएमसीले नेपाल इन्भेस्टमेन्टमा राखेको ८७ लाख ४९ हजार युरो र ८५ करोड १४ लाख रुपैयाँ जफत गरेको थियो । सीएमसीले इटालियन अदालतबाट जमानत जफत नगर्ने आदेश दिएपछि इन्भेस्टमेन्टको पैसा उतै रोकिएको छ ।
सीएमसीले आयोजनाको पहिलो लटको काम सुरु नगरेपछि प्रवद्र्धक तनहुँले उसँगको ठेक्का तोडेर जमानत जफतका लागि पत्राचार गरेपछि बैङ्कले एक हप्ताभित्र भुक्तानी गर्ने गरेको थियो । इन्भेस्टमेन्टको निक्षेप लागत ६.३१, आधारदर ८.३३, ब्याजदर अन्तर ४.३८ र सीसीडी ७१.९७ प्रतिशत छ ।
प्रतिसेयर आम्दानी पनि खुम्चिएर २६ रुपैयाँ ५४ पैसामा झरेको छ । प्रतिसेयर नेटवर्थ पनि घटेर १९९ रुपैयाँमा सीमित भएको छ ।