काठमाडौ । नेपाल राष्ट्र बैङ्कले क्रसहोल्डिङ्ग विवरण पठाउन बैङ्क तथा वित्तीय संस्थालाई पुनः पत्राचार गरेको छ । बैङ्कहरुले पठाएको क्रसहोल्डिङको विवरणमा चित्त नबुझेपछि राष्ट्र बैङ्कले पुनः पत्र पठाएको हो । राष्ट्र बैंकले बिहीबार बैङ्क तथा वित्तीय संस्थाहरुलाई पुनः पत्र पठाउँदै माग गरेअनुसारको सबै विवरण पठाउन भनेको छ ।
राष्ट्र बैंकले साउन १५ गते एकै व्यक्ति वा समूहको लगानी भएका बैङ्कहरूको क्रसहोल्डिङ्गको बिवरण एक साताभित्र पठाउन बैंकहरूलाई निर्देशन दिएको थियो । क्रसहोल्डिङ भएका बैङ्कहरुलाई फोर्स मर्जर गराउन राष्ट्र बैङ्कले बैङ्कहरुसंग यस्तो विवरण माग गरेको हो ।
‘राष्ट्र बैङ्कलाई बैङ्कहरुले पठाएको क्रसहोल्डिङको विरण चित्त बुझेको छैन’ प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले क्यापिटल नेपाललाई भने,‘व्यक्तिगत रूपमा रहेको क्रसहोल्डिङ्गका विवरण आएपनि कम्पनीमार्फत गरिएको लगानीको विवरण नआएकाले पुनः पत्र पठाइएको हो ।’
राष्ट्र बैङ्कले ०.५ प्रतिशतभन्दा बढी सेयर होल्डिङ भएका बैङ्क तथा वित्तीय संस्थाका लगानीकर्ताको लगानी विवरण मागेको थियो । तर त्यस्तो विवरण नआएकाले विवरण पठाउन पुनः पत्र पठाइएको राष्ट्र बैंकले जनाएको छ ।
बैङ्कहरूले बुझाएको बिवरणमा एक व्यक्तिको लगानी २ देखि ५ वटा बैङ्कमा रहेको देखिएको उनले बताए । एउटै व्यवसायीको ५ ओटा भन्दा बढी बैङ्क तथा वित्तीय संस्थामा १ प्रतिशत भन्दा बढी सेयर लगानी रहेको पाइएको छ ।
राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले ०.५ प्रतिशतभन्दा बढी सेयर धारण गर्ने सेयर होल्डरहरुको नामावलीसहित रोक्का रहेको सेयर विवरण र संस्थापकबाट लगानी भएको चुक्ता पुँजीको विवरण पनि एकैसाथ बुझाउनुपर्ने निर्देशन दिएको थियो ।
सबैभन्दा बढी क्रसहोल्डिङ कर्मचारी सञ्चय कोषको छ । सञ्चय कोषको एक दर्जन बैङ्कमा संस्थापक र सर्वसाधारण गरी झण्डै ७ अर्ब रुपैयाँ सेयर लगानी छ ।
संस्थागत लगानीकर्ता हुनुका साथै सरकारी संस्था भएकाले कोषलाई क्रसहोल्डिङ लागु नहुने निरौलाको भनाई छ । उनले प्राकृतिक व्यक्तिमा मात्र लागु हुने जानकारी दिए ।
मर्जरमा जान दवाव दिनका लागि केन्द्रीय बैङ्कले क्रसहोल्डिङ छानविन गर्न लागेको हो । एनआईसी एसिया, एनएमबी, हिमालयन, ग्लोबल आईएमईलगायत अधिकाँश बैङ्कमा क्रसहोल्डिङ रहेको छ ।