काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको विशेष साधारणसभा कात्तिक २९ गते हुने भएको छ । महासंघको शुक्रबार बसेको कार्यकारणी समितिको बैठकले कात्तिक २९ गते विशेष साधारणसभा गर्ने निर्णय गरेको हो ।
निवर्तमान अध्यक्ष पशुपति मुरारकाले विद्यान विपरित साधारणसभा बोलाएको भन्दै फरकमत (नोट अफ डिसेन्ट) लेखेर वैठकबाट बाहिरिएका थिए ।
साधारणसभामा लैजाने एजेन्डाको विषयमा पर्याप्त छलफल नभएको र ३ महिनाभन्दा कम समय राखेर बोलाइएको भन्दै मुरारका बाहिरिएका हुन । उनले प्रक्रियागत र विधिसंगत ढंगले विशेष साधारणसभा नबोलाइएको बताए ।
महासंघको विधान संशोधनका लागि ३५ ओटा बुँदाको संशोधन प्रस्ताव विधान संशोधन समितिले कार्यसमितिलाई प्रस्ताव पठाएको छ ।
संशोधन समितिले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने हालको व्यवस्था हटाउने वा उक्त व्यवस्था एक दुई कार्यकाल यथास्थानमा राख्ने विकल्पसहितको प्रस्ताव पठाएको छ ।
वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई महासंघको अध्यक्ष हुन नदिन पूर्व अध्यक्ष चण्डीराज ढकालको ग्राण्ड डिजाइनमा विशेष साधारणसभा बोलाइएको हो ।
यो व्यवस्थाले विशेष साधारणसभामार्फत विधान संशोधन भई तत्काल अध्यक्षको चुनाव हुन पनि सक्छ वा विधान संशोधनपछिको कार्यकाल वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेगरी एक दुई कार्यकाल राख्न पनि सक्ने छ ।
समितिले प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्बन गर्दा महासङ्घको गरिमा अभिवृद्धि हुने हुँदा अध्यक्षको निर्वाचन गर्न उपयुक्त देखिएको कारणसमेत उल्लेख गरेको छ ।
कोषाध्यक्षमा निरक केसी
महासंघको रित्त कोषाध्यक्षमा निरक केसीलाई सर्वसम्मत रुपमा चयन गरिएको छ । ज्ञानेन्द्रलाल प्रधानले राजीनामा गरेपछि कोषाध्यक्ष पद रित्त थियो ।