पोखरा । नेपाल औषधी व्यवसायी संघ कास्कीको अध्यक्षमा विक्रम पन्त निर्वाचित भएका छन् । पन्तले प्रतिस्पर्धी सञ्जिव देवकोटा क्षेत्रीलाई पराजीत गरी प्रथम अधिवेशनबाट जिल्लाको पहिलो अध्यक्ष बनेका हुन् । शनिबार सम्पन्न मतदानबाट पन्तको पक्षमा १४५ र .प्रतिस्पर्धी देवकोटाको पक्षमा १३२ मत परेको थियो ।
संघको उपाध्यक्षमा धिरज गौतम, महासचिवमा पूर्ण बहादुर बस्नेत ‘काजी’, कोषाध्यक्षमा मिलन श्रेष्ठ, सचिव निराजन रेग्मी, र उप–कोषाध्यक्षमा विक्रमराज पहारी निर्वाचित भएका छन् । त्यसैगरी तीन सदस्यमा सुमन तिवारी, आशा आले राना मगर, दुर्गा प्रसाद अधिकारी निर्वाचित भएका छन् ।
यस अघि संघको उद्घाटन सत्रमा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले औषधी व्यवसायीहरु नाफामुखी मात्र हुन नहुने भन्दै सामाजिक उत्तरदायित्वमा ध्यान दिन आग्रह गरिन् ।
‘औषधि विक्रेताको चेतनामा मानिसको जीवन अड्केको हुन्छ बिक्रेताहरु संवेदनशील भएर औषधिको विक्रि वितरण गर्न जरुरी छ,’ उनले भनिन् । सामाजिक विकास मन्त्रालयले नागरिकको लागि एकिकृत स्वास्थ्य अभियानबाट बजेटको व्यवस्था गरेको मन्त्री पुनले जानकारी दिइन् । साथै उनले स्वास्थ नागरिकको लागि स्कुलमा स्वास्थ्य कार्यक्रमहरु संचालन गरेको त्यो कार्यक्रम निकै प्रभावकारी भएकोसमेत बताइन् ।
कार्यक्रममा केन्द्रिय सचिव यमनाथ पौडेल, सदस्य टंक अधिकारी, गण्डकी प्रदेशका उपाध्यक्ष मेघनाथ काफ्ले, गण्डकी अञ्चलका पूर्व अध्यक्ष नरबहादुर राना, धौलागीरि अञ्चलका निर्वतमान अध्यक्ष चिरञ्जीवि श्रेष्ठ, गण्डकी प्रदेशका महासचिव कृष्ण पाण्डे लगायतले औषधि व्यवसायी संघको संस्थागत विकास र हक हितका लागि एकबद्ध भएर अघि बढ्नु पर्ने धारणा राखे ।