काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नाफा गर्न थालेपछि सञ्चित नोक्सानी घट्न थालेको छ । गत आर्थिक वर्षसम्म प्राधिकरणको सञ्चित नोक्सानी घटेर १५ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको हो ।
आर्थिक वर्ष २०७२/०७३ सम्म सञ्चित नोक्सान ३४ अर्ब ६० करोड रुपैयाँ थियो । कुलमान घिसिङ कार्यकारी निर्देशक भएको वर्षदेखि विद्युत् प्राधिकरणको सञ्चित नोक्सानी घट्न थालेको हो ।
३ वर्षको अवधिमा १९ अर्ब ३८ करोड रुपैयाँ सञ्चित नोक्सानी घटेको कार्यकारी निर्देशक घिसिङले बताए । यसअघि सरकारले विद्युत् प्राधिकरणको २८ अर्ब ३२ करोड रुपैयाँ सञ्चित नोक्सानलाई अपलेखन (राइटअफ) गरी नाफा घाटाको बराबरीमा ल्याएपछि पनि बढेर ३४ अर्ब ६० करोड रुपैयाँ पुगेको थियो ।
प्राधिकरणले आव २०७३/०७४ मा १ अर्ब ५१ करोड, २०७४/०७५ मा २ अर्ब ८९ करोड र गत आर्थिक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा गरेको छ ।
गत आवमा प्राधिकरणको आम्दानी ७३ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । सञ्चालन खर्च ५८ अर्ब ४ करोड रुपैयाँ रहेको छ । गत वर्ष सञ्चालन नाफा १५ अर्ब ४२ करोड रुपैयाँ थियो ।
गतवर्ष विद्युत् प्राधिकरणले रोयल्टीबापत १ अर्ब ५० करोड, दीर्घकालीन ऋण १ अर्ब र ऋणको ब्याज वक्यौता १३ अर्ब १५ करोड गरी १५ अर्ब ६५ करोड रुपैयाँ सरकारलाई भुक्तानी गरेको छ । गत आवमा कर्मचारीको उपदान, निवृत्तिभरण र औषधि उपचारलगायत दीर्घकालीन दायित्व व्यवस्थापनमा ३ अर्ब ५० करोड रुपैयाँ खर्च भएको थियो ।
चुहावट घटेर १५.३२ प्रतिशतमा झरेपछि आम्दानी ४ अर्ब रुपैयाँ थपिएको छ । यस्तै डेडिकेटेड फिडरबाट थप २ अर्ब ५० करोड रुपैयाँ आम्दानी भएको छ ।
प्रधिकरणको विद्युत् गृहको बिजुली उत्पादन बढेर २ अर्ब ५५ करोड युनिट पुगेको छ । चुहावट नियन्त्रण, डेडिकेटेड फिडर बक्यौता असुली, आयोजनाबाट विद्युत् उत्पादन बढ्नु र आन्तरिक व्यवस्थापनमा सुधार र निर्धारित समयमा भारतलाई बिजुलीको भुक्तानी गर्दा प्राप्त ‘रिवेट’ले गर्दा नाफामा बढोत्तरी भएको हो ।