सप्तरी । मुलुककै प्रसिद्ध छिन्नमस्ता शक्तिपीठको दुई वर्षको आय-व्यय विवरण सार्वजनिक गरिएको छ । छिन्नमस्ता भगवती संरक्षण संवद्र्धन समितिले आर्थिक वर्ष २०७४/७५ मा एक करोड ३९ लाख ४९ हजार ९२० रूपैयाँको आय-व्यय विवरण सार्वजनिक गरेको हाे ।
आव २०७५/७६ मा एक करोड ३६ लाख ४३ हजार ८९० रूपैयाँ सङ्कलन भएकाे थियाे । समितिका सचिव भोगेन्द्र झाले प्रस्तुत गर्नुभएको आय-व्यय प्रतिवेदनमा तत्कालीन पदाधिकारीको जिम्मामा रहेको रकम असुल हुन नसकेको उल्लेख छ ।
लेखा प्रतिवेदनले समेत एक लाख १० हजार ३६० रूपैयाँ फछ्र्योट नभएको र फछ्र्योटतर्फ समितिले ध्यान पनि नदिएको भन्दै अविलम्ब बेरुजु फछ्र्योट गर्नुपर्ने उल्लेख गरेको छ ।
तत्कालीन कोषाध्यक्ष विजय यादवबाट ७५ हजार रूपैयाँ, उपाध्यक्ष शङ्कर मण्डलबाट २१ हजार रूपैयाँ, सचिव बाबुनारायण मण्डलबाट छ हजार ७४५ रूपैयाँ र कर्मचारी सन्तोष शर्माबाट चार लाख ९५ हजार ३४९ रूपैयाँ दाखिला हुनुपर्ने प्रतिवेदनमा जनाइएको छ । पेश्की रकम तीन लाख ३९ हजार २१८ रूपैयाँ फछ्र्योटतर्फ कारवाही गर्न लेखा प्रतिवेदनले समितिलाई सचेत गराएको छ ।
सार्वजनिक गरिएको प्रतिवेदनअनुसार पर्यटन बोर्डबाट ३० लाख रूपैयाँ, बलि प्रदानवापत १९ लाख ७५ हजार ६८० रूपैयाँ, सपिङ कम्पलेक्सबाट १४ लाख ६३ हजार ५० रूपैयाँ, मोटरसाइकल पूजाबाट पाँच लाख ८८ हजार ६२६ रूपैयाँ, दानपेटीबाट चार लाख ११ हजार ५२ रूपैयाँ प्राप्त भएको छ ।
समितिले विभिन्न व्यक्तिहरुले चढाएको सुन, चाँदी र पितल सुरक्षित साथ राखिएको समितिका कार्यवाहक अध्यक्ष तथा पिठाधीश महाकान्त ठाकुरले बताए ।
आय-व्यय विवरण सार्वजनिक गर्न आयाेजित कार्यक्रममा सहभागी स्थानीय तेजनारायण यादव, शिवशङ्कर ठाकुर, प्रभुनारायण यादव, रामचन्द्र चौधरीलगायत सञ्चारकर्मीले मन्दिरको सार्वजनिक सम्पत्तिलाई व्यक्तिगत बनाएको, टिकेअध्यक्ष र समिति बनाएर भ्रष्टाचारलाई संस्थागत गरेको भन्दै चर्को विरोध गरेका थिए । रासस