काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मलेसियाको अध्यक्षमा हरि भट्टराई निर्विरोध अध्यक्ष भएका छन् । अध्यक्षमा भट्टराईको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।
भट्टराईसँग अध्यक्षमा निर्वाचन लड्ने भनिएका सुन्दर आले वरिष्ठ उपाध्यक्षमा उम्मेदवार दिएपछि सहमतिमा नयाँ कार्यसमिति चयन भएको हो ।
सङ्घको महिला उपाध्यक्षमा शुभद्रा लिङ्ग्देन, उपाध्यक्षमा ज्ञानेन्द्रबहादुर सिंह, महासचिवमा हेमराज सापकोटा, दुई सचिव पदमा रञ्जितकुमार क्षेत्री, नन्दबहादुर क्षेत्री, कोषाध्यक्ष्मा कृष्णप्रसाद नेपाल, सहकोषाध्यक्षमा राकेशप्रसाद महतो, युवा संयोजकमा रवीलाल अधिकारी, महिला संयोजकमा शारदा देवान याख्या निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै २० कार्यसमिति सदस्यमा पनि सबै निर्विरोध निर्वाचित भएका छन् । अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यमा महेन्द्रजङ्ग शाह र टेकबहादुर टमोटा निर्वाचित भएका छन् ।
लामो समयदेखि मलेसियामा रहेर व्यवसाय गर्दै आइरहेका भट्टराईले त्यहाँ रहेका नेपाली कामदारको हकहितका लागि लागी पर्ने बताएका छन् । उम्मेदवारी घोषणाकै क्रममा उनले कामदारको कल्याणकारी कोषका लागि १४ लाखको अक्षयकोष स्थापना गर्ने बताएका थिए ।
मलेसियामा गैरकानूनी हैसियतमा रहेका कामदारलाई नेपाल पठाउन सहयोग गरिरहेका भट्टराई सामाजिक सेवामा पनि सक्रिय छन् ।