काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष मुलुकको आर्थिक वृद्धिदर ११ प्रतिशत पुग्ने दाबी गरेको छन् । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठकलाई आज सम्बोधन गर्दै उनले मुलुकमा केही भएन भन्दा पनि यस वर्ष पनि आर्थिक वृद्धिदर उच्च भएको बताए ।
ओलीले भने, “‘केही भएन भन्छन्, केही नहुँदा पनि ७ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ, अर्कोपटक ८.५ प्रतिशत पुग्छ, अर्को पटक ९.५, अर्को वर्ष ११ प्रतिशत पुग्छ, अझै केही भएन भन्नेले सजग गराएकामा धन्यवाद ।”
उनले वर्तमान सरकारले केही पनि गरेन भरेर कुरा काट्नेलाई सरकारको कामले दरिलो जवाफ दिएको बताए । वर्तमान सरकारले बाटो, पुललगायत भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिएको उनको भनाइ थियो ।
ओलीले वर्तमान सरकार गठन भइकनमात्रै एक हजार ४०० किलोमिटर सडक कालेपत्रे भएको बताए । उनले भने, “३०० पुल बनाउँदा कम भयो भने ५०० ओटा पुल बन्छन्, बाटोहरु चौडा बन्दैछन् ।”
प्रधानमन्त्री ओलीले मेलम्चीको ठेकेदार भागेपछि पनि सरकारले आफैँ काम गरिरहेको बताए । उनले भने, ‘एउटा मेलम्चीको ठेकेदार भाग्यो त । यस्तो कुरा कहिलेकाहीँ हुन्छ, सरकार भागेको त हैन नी । केही ढिलो होला हामी मेलम्चीको पानी ल्याउछौँ ।’
राष्ट्रिय गौरवका आयोजनाको प्रधानमन्त्री कार्यालयबाट प्रत्यक्ष अनुगमनको व्यवस्था मिलाइएको उल्लेख गर्दै उनले भने नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि प्रधानमन्त्री र मन्त्री तथा मन्त्री र सचिवको बीच कार्यसम्पादन सम्झौता भएको बताए ।