काठमाडौँ । सरकारले विभिन्न ७ शीर्षकमा उपलब्ध गराउँदै आएको सहुलियत दरको कर्जामा आकर्षण देखिएको छैन । ती सहुलियत कर्जामध्ये व्यावसायिक कृषि तथा पशुपन्छीमा केही आकर्षण देखिएको छ भने शिक्षित युवा स्वरोजगार कर्जामा न्यून आकर्षण देखिएको छ ।
सरकारले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्त र प्राविधिक तथा व्यावसायिक कर्जा र भूकम्प पीडितको निजी आवास निर्माणलगायतका शीर्षकमा सहुलियत कर्जा उपलब्ध गराएको छ ।
राष्ट्र बैङ्कले यस्तो कर्जा लिन आग्रह गर्दै आएको छ । कर्जामा तोकिएको ब्याज अनुदानसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न राष्ट्र बैङ्कले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ जारी गर्दै यस्तो कर्जा दिन बैङ्क तथा वित्तीय संस्थाहरुलाई परिपत्र गरिसकेको छ ।
राष्ट्र बैङ्कका अनुसार आर्थिक वर्ष २०७५÷७६ को असार मसान्तसम्म व्यासायिक कृषि तथा पशुपन्छीतर्फ ३७ अर्ब १२ करोड ६९ लाख ९० हजार रुपैयाँ कर्जा स्वीकृत भएको छ । यस्तो कर्जा १७ हजार २ सय ३ जनाले लिएका छन् । त्यसैगरी, सबैभन्दा कम आकर्षण रहेको शिक्षित युवा स्वरोजगारतर्फ १ करोड २६ लाख ५० हजार रुपैयाँ कर्जा गएको छ । यस्तो कर्जा २४ जनाले मात्रै लिएका छन् ।
विदेशबाट फर्किएका युवा परियोजना कर्जा ४९ जनाले ३ करोड ५९ लाख ७० हजार, महिला उद्यमशील कर्जा ७ सय ९६ जनाले ५८ करोड १३ लाख ३० हजार लगेका छन् भने दलित समुदाय व्यवसाय विकास शीर्षकमा ७० जनाले ३९ करोड १ लाख २० हजार रुपैयाँ कर्जा स्वीकृत भएको छ ।
त्यसैगरी, उच्च र प्राविधिक शिक्षातर्फ ६० जनाले मात्रै सहुलियत कर्जा लगेका छन् । यस शीर्षकमा १ करोड ७३ लाख ६६ हजार रुपैयाँ कर्जा स्वीकृत भएको राष्ट्र बैङ्कले जनाएको छ । त्यस्तै, भूकम्पपीडितहरुका निजी आवास निर्माण गर्न ९३ जनाले २ करोड ६४ लाख ६८ हजार रुपैयाँ स्वीकृति भएको राष्ट्र बैङ्कले जनाएको छ ।