काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०७६/०७७ मा ८ अर्ब रुपैयाँ नाफा गर्ने प्रक्षेपण गरेको छ । प्राधिकरणको ३४ औं वार्षिकोत्सवमा बोल्दै कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, गुणस्तरीय विद्युत् वितरण, प्रसारण तथा सबस्टेसनको निर्माण र स्तरोन्नति गरी तोकिएको लक्ष्य हासिल गर्ने बताए । उनले विद्युत् चुहावट १४ प्रतिशतभन्दा कम गर्ने योजना रहेको बताए ।
एक प्रतिशत बिजुली चुहावट कम हुँदा विद्युत् प्राधिकरणलाई थप ८० करोड रुपैयाँ आम्दानी हुन्छ । चालू आर्थिक वर्षमा ४५६ मेगावाट माथिल्लो तामाकोसीलगायतका केही गेम चेन्जर जलविद्युत् आयोजन सम्पन्न हुने चरणमा रहेको कार्यकारी निर्देशक घिसिङले बताए । एक वर्षभित्र ४० जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने योजनासहित अघि बढेको सुनाउँदै घिसिङले दुई वर्षभित्र सबैलाई विद्युतीकरणमा आबद्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।
ऊर्जामन्त्री वर्षमान पुनले विद्युत् प्राधिकरणलाई उत्कृष्ट सरकारी संस्थान बनाउन प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेको भन्दै त्यसका लागि मन्त्रालयका कर्मचारी, प्राधिकरणको व्यवस्थापन समिति, कार्यकारी निर्देशक र कर्मचारीलाई महत्त्वपूर्ण योगदान पुर्याउन आग्रह गरे ।
उनले दुई वर्षभित्र मुलुकलाई पूर्ण विद्युतीकरण गर्ने र १० वर्षमा आन्तरिक खपतसहित १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य हासिल गर्न सबै लाग्नुपर्ने बताए । ऊर्जा विकासको दीर्घकालीन लक्ष्य हासिल गर्न लगानी र पुँजी व्यवस्थापनका लागि जनताको लगानी, सरकारको लगानी र प्रत्यक्ष वैदेशिक लगानी आवश्यक रहेको उनको भनाइ छ । मन्त्री पुनले १० हजार मेगावाट विद्युत् उत्पादन गर्न झन्डै ३० खर्ब रुपैयाँ आवश्यक रहेको भन्दै महत्त्वपूर्ण चुनौती पुँजी निर्माण रहेको बताए ।
याे पनि हेर्नुहाेस् : विद्युत् प्राधिकरणको नाफा १५३ प्रतिशत बढ्यो, गत वर्ष ७२० करोड
ऊर्जा सचिव दिनेशकुमार घिमिरेले प्राधिकरणले सञ्चित नोक्सानी होइन सञ्चित नाफा आर्जन गर्नुपर्ने बताए । यस वर्ष अधिक विद्युत् उत्पादन हुने भएकाले बढी ऊर्जा खपत गर्न घरायसी खाना ग्यास सिलिन्डिरका सट्टा विद्युतीय चुल्हो प्रयोग गर्नुपर्ने बताए ।
विद्युत् निर्यात गर्न भारत र बङ्गलादेश मात्रै बजार नभएको भन्दै उनले विद्युतको आन्तरिक खपतमा जोड दिई आत्मनिर्भर हुनुपर्ने चुनौती रहेको बताए ।
विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले झोलामा खोला राख्ने दिन अन्त्य भएको भन्दै विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) स्वीकृति, नीतिगत सुधार र सेयर जारी गर्न आयोग जन्मिएको बताए । विद्युत् प्राधिकरणबाट हुने कामलाई ढिलो हुन नदिने गरी आयोगले अदालतसरह अधिकार पाएको उनले बताए ।
गत आव २०७५/०७६ मा प्राधिरकणले ७ अर्ब २० करोड नाफा कमाएको थियो भने १८ प्रतिशत कायम रहेको विद्युत् चुहावट १५.३२ मा झारेको थियो । त्यस्तै आव २०७२/०७३ मा ३४ अर्ब ६० करोड रुपैयाँ सञ्चित नोक्सानी रहेकामा तीन वर्षको अवधिमा प्राधिकरणकोे सञ्चित नोक्सानी घटेर १५ अर्ब २२ करोड रुपैयाँ कायम भएको हो ।
कुलमान घिसिङ कार्यकारी निर्देशक भएको वर्षदेखि विद्युत् प्राधिकरणमा विद्युत् चुहावट, नाफा आर्जन र सञ्चित नोक्सानी घट्न थालेको देखिन्छ । घिसिङको व्यवस्थापकीय कुशलताका कारण आव २०७२/०७३ मा ९ अर्ब घाटामा रहेको प्राधिकरण निरन्तर नाफामा गएको हो ।
तीन वर्षको अवधिमा १९ अर्ब ३८ करोड रुपैयाँ सञ्चित नोक्सानी घटेको कार्यकारी निर्देशक घिसिङले बताए । गत आवमा प्राधिकरणको आम्दानी ७३ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । सञ्चालन खर्च ५८ अर्ब ४ करोड रुपैयाँ छ । गत वर्ष सञ्चालन नाफा १५ अर्ब ४२ करोड रुपैयाँ थियो ।
गत वर्ष विद्युत् प्राधिकरणले रोयल्टीबापत १ अर्ब ५० करोड, दीर्घकालीन ऋण १ अर्ब र ऋणको ब्याज बक्यौता १३ अर्ब १५ करोड गरी १५ अर्ब ६५ करोड रुपैयाँ सरकारलाई भुक्तानी गरेको छ । गत आवमा कर्मचारीको उपदान, निवृत्तिभरण र औषधि उपचारलगायत दीर्घकालीन दायित्व व्यवस्थापनमा ३ अर्ब ५० करोड रुपैयाँ खर्च भएको थियो ।