काठमाडौं । सिभिल बैङ्कको संस्थापक सेयर बिक्री हुने भएको छ । सिभिलको १२ लाख ८२ हजार ८८१ कित्ता संस्थापक सेयर बिक्री गर्न लागिएको हो ।
न्युनतम १० हजार कित्ता अधिकतम सबै खरिद गर्न सकिने निष्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । सेयर खरिदका लागि बोलपत्र पेश गर्ने अन्तिम दिन भदौ १६ गते तोकिएको छ ।
हाउजिङ व्यवसायमा समस्या आएपछि इच्छाराज तामाङले यसअघि १६ करोड रुपैयाँको संस्थापक सेयर कर्मचारी सञ्चय कोषलाई बिक्री गरिसकेका छन् ।
उनले प्रतिकित्ता १०० रुपैयाँमा संस्थापक सेयर बिक्री गरेका थिए । उनले ऋण लिएको सिभिल सेभिङ्गस एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड समस्याग्रस्त भएको छ । उनले आफनो सम्पत्ति बिक्री गरेर ऋण चुक्ता गरिरहेका छन् ।
सो बैंकको शेयर खरिद गर्न चाहनेले प्रतिकित्ता के कति दररेटमा खरिद गर्ने हो सो खुलाइ सिभिल क्यापिटल मार्केट सुन्धानरामा गोप्य शिलबन्दी आवेदन दिन सक्नेछन् । लिलामीको शेयर खरिद गर्न लगानीकर्ताले न्यूनतम् प्रतिकित्ता १०० रुपैयाँदेखि सोभन्दा बढी मूल्य आवेदन गर्न सक्नेछन् ।
संस्थापक शेयर खरिदका लागि न्यूनतम् दश हजार कित्ता आवेदन गर्नुपर्ने छ भने अधिकतम शेयर सङ्ख्याका लागि कुनै हद नलाग्ने बैंकले स्पष्ट पारेको छ । संस्थापक शेयर खरिद गर्न चाहनेले १०० रुपैयाँ तिरी सिभिल क्यापिटलबाट आवेदन फारम लिन सक्नेछन् । आवदेन फारममा आफूले लिन चाहेको शेयर कित्ताको दररेट अङ्क र अक्षरमा स्पष्टसँग लेख्नु पर्नेछ ।
संस्थापक शेयर सबैभन्दा बढी दररेटमा खरिद माग गर्ने आवेदकले प्राप्त गर्नेछन् । यसबाट पनि शेयर बाँकी रहेमा त्यसपछिको बढी दररेटमा माग गर्नेलाई बिक्री गरिने छ । संस्थापक शेयर खरिद गर्न इच्छुक आवेदक सङ्गठित सङ्घ/संस्था भएका दर्ता प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र तथा शेयर खरिद गर्नेसम्बन्धमा सम्बन्धित संस्थाको निर्णयको प्रतिलिपि पेश गर्नुपर्ने बैंकले जनाएको छ ।