जाजरकोट । नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले भेरी नगरपालिकाका विपन्न परिवारलाई निःशुल्क रूपमा बिजुलीको मिटरबक्स वितरण गरेको छ ।
सो नगरपालिका को १, ३, ४, १०, ११, १२ र १३ वडाका विपन्न परिवारलाई ती वडा कार्यालयले गरेको सिफारिशका आधारमा ४९३ थान मिटर निःशुल्क रूपमा वितरण गरिएको हो ।
विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले उज्यालो नेपाल कार्यक्रमअन्तर्गत सबैको घरको अन्धकार हटाउन प्राधिकरणको केन्द्रीय योजनाअनुसार मिटर बक्स निःशुल्क वितरण गरिएको जानकारी दिए ।
यो अभियानले विद्युत् चोरीको अन्त्य हुने आशा व्यक्त गरिएकाे छ । वडा नं १ का वडाध्यक्ष दीपक रानाले सधैँ आसपासका धनी मानिसको घरको उज्यालो हेरेर बस्नु पर्ने परिस्थिति अन्त्य गर्न विद्युत् प्राधिकरणले निकै उदारणहरणीय भूमिका निर्वाह गरेको बताए ।
यसअघि प्राधिकरणले आफ्नो कार्य क्षेत्रअन्तर्गत पर्ने सुर्खेतको सिम्ता गाउँपालिकामा पनि निःशुल्क मिटर बक्स वितरण सकिसकेको छ । जिल्लामा एउटा मिटर बक्सको मूल्य सेवा शुल्कसहित दुई हजार ५०० रूपैयाँ पर्छ ।
त्यो जडान गर्न आवश्यक तारसहित सबै जोडेर एउटा मिटर बक्सको कूल चार हजार २०० रूपैयाँदेखि चार हजार ५०० रूपैयाँसम्म पर्ने खड्काले बताए । पहिलाे चरणमा नगरपालिकाका विकट बस्तीमा मिटर वितरण गर्न थालिएकाे उनले बताए ।
विद्युत् लाइन विस्तार कार्य जारी रहेकाले मिटर बक्स वितरण कार्यसँगै बढेको खड्काको भनाइ छ । रासस