काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकको ५६ औँ सम्मेलन सोमबारदेखि काठमाडौँमा शुरु भएको छ ।
सोल्टी होटलमा पाँच दिनसम्म चल्ने सम्मेलनमा एशिया प्रसान्त क्षेत्रका देशको सहभागिता रहेको छ । सम्मेलनको भर्रखरै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
सम्मेलनमा ३५० विदेशी (उच्च अधिकारी) को सहभागिता रहेको आयोजक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका ४६ देशका हवाई महानिर्देशकले सहभागिता जनाएका छन् ।
आइकाओका अध्यक्ष, सुरक्षा अधिकारीलगायतको पनि सम्मेलनमा सहभागिता रहेको छ । उच्च तहका विदेशी अधिकारीको ठूलो जमघट भएको यस सम्मेलनको आफ्नै महत्व रहेको प्राधिकरणका महानिर्देशक पोखरेलले बताए ।
उनले उड्डयन क्षेत्रमा विभिन्न किसिमका टिप्पणी भइरहेको सन्दर्भमा नेपालको उड्डयन तथा पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्न सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरे ।
यस्तो सम्मेलन हरेक देशले पालैपालो गर्ने गर्छन् । आइकाओमा नेपालसहित १९३ सदस्य राष्ट्र छन् । आइकाओ स्थापनाको ७५औँ वर्षका अवसरमा नेपालमा तेस्रो पटक सम्मेलन आयोजना गरिएको हो ।
यसअघि सन् १९७६ मा पहिलो र सन् १९९८ मा दोस्रो पटक सम्मेलन भएको थियो । यसै वर्षको वसन्त ऋतुमा आइकाओको हीरक झण्डा सगरमाथामा फहराइएको थियो ।
सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका अमेरिका, बेलायत, फ्रान्स, युरोपेली सङ्घ, जापान, बोइङ, एयरबस, इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएशन (आयोटा)लगायत अन्तर्राष्टिय सङ्घसंस्थाको सहभागिता रहेको छ ।
सम्मेलनमा एशिया प्रशान्त क्षेत्रको उड्डयनको ‘सेफ्टी’, ‘सेक्युरिटी’, प्राविधिक क्षमता अभिवृद्धि, पूर्वाधार विकासलगायत विषयमा छलफल हुनेछ ।
आगामी अक्टोबर महीनामा आइकाओ मुख्यालय मन्ट्रियलमा हुने आइकाओ ४०औँ महासभामा अहिलेको सम्मेलनको निष्कर्षलाई प्रस्तुत गरिने प्राधिकरणका महानिर्देशक पोखरेलले बताए । यो सम्मेलन अघिल्लो वर्ष फिजीमा भएको थियो भने नेपालपछि बङ्गलादेशमा आयोजना हुने जनाइएको छ ।