काठमाडौं । नेपाल विद्युत् प्राधिकरण आफैँले आयोजना बनाउन छाडेको छ । प्राधिकरणले सहायक कम्पनीमार्फत झण्डै ३ हजार मेगावाट क्षमताका १० जलविद्युत् आयोजना निर्माण सुरु गरेको छ ।
जनतालाई लगानी प्राेत्साहित गर्न विद्युत् प्राधिकरण आफैँले आयोजना निर्माण नगरी सहायक कम्पनीमार्फत अघि बढाएको हो । प्राधिकरणले अघि बढाएका सबै आयोजना जनताको जलविद्युत् योजनामा परेका छन् ।
विद्युत् प्राधिकरण आफैँले निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो आयोजना राष्ट्रिय प्रणालीमा जोडिन बाँकी छ । सम्भवत प्राधिकरण आफैँले निर्माण गरेको यो अन्तिम आयोजना हो ।
यस्तै ६० मेगावाटको माथिल्लो त्रिशूली ३ बी र दुई वर्षअघि ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना सम्पन्न गरेको थियो । पछिल्ला वर्षमा प्राधिकरण आफैँले आयोजना निर्माण गरेको छैन ।
प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रो लिमिटेडले १४० मेगावाटको तनहुँ जलाशययुक्त आयोजना र १०४ मेगावाटको तल्लोसेती जलविद्युत् आयोजनाको काम सुरु गरेको छ । तनहुँको निर्माण सुरु भइसकेको छ भने तल्लो सेतीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम भइरहेको छ । डीपीआरपछि आयोजनाको काम अघि बढ्ने छ ।
चिलिमे हाइड्रोपावर लिमिटेडमार्फत २७० मेगावाटका ४ आयोजना निर्माणका क्रममा रहेका छन् । जसमध्ये रसुवागढी हाइड्रोपावर लिमिटेडले १११ मेगावाटको रसुवागढी र सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरिरहेको १४ मेगावाटको माथिल्लो सान्जेन आयोजना आउँदो असारसम्म सम्पन्न हुने छन् ।
मध्यभोटेकोसी हाइड्रोपावर लिमिटेडको १०२ मेगावाटको मध्यभोटेकोसी र ४२ मेगावाटमो तल्लो सान्जेन आयोजना अर्को वर्ष सम्पन्न हुने विद्युत् प्राधिकरणले जनाएको छ ।
अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसीको काम अन्तिम चरणमा पुगको छ । तामाकोसीको ९८ प्रतिशत काम सकिएको छ ।
यसैगरी तामाकोसीले २२ मेगावाटको रोल्वालिङखोला जलविद्युत् आयोजनाको काम अघि बढाएको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले आयोजनको डीपीआर तथा बोलपत्र दस्तावेज तयारी अन्तिम चरणमा रहेको जानकारी गराए ।
४० मेगावाटको रघुगंगा र ३७ मेगावाटको त्रिशूली ३ बी आयोजनाको निर्माण जारी रहेको छ । दुई वर्षमा यी दुवै आयोजना सम्पन्न भई बिजुली उत्पादन गर्ने छन् ।
आयोजना अपर अरुण हाइड्रोपावर लिमिटेडको ३० मेगावाटको इर्खुवाखोला जलविद्युत् आयोजनासहित १ हजार ६० मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको डीपीआरको काम जारी छ ।
आगामी सन २०२० सम्म डीपीआर सम्पन्न गरी बोलपत्रको दस्तावेज तयार पार्ने काम परामर्शदाताबाट भइरहेको उनले सुनाए । आयोजनाको वातावरणीय मूल्याङ्कको काम जारी छ । विश्व बैङ्कको अगुवाइमा आयोजना निर्माण हुने तय भइसकेको छ । आयोजनामा कर्मचारी सञ्चय कोषले समेत ऋण लगानी गर्नेछ ।
यसैगरी ६३५ मेगावाटको दूधकोसी जलाशय आयोजनाको डीपीआर र बोलपत्र दस्तावेजको काम यो वर्ष सम्पन्न हुने छ । यो आयोजना एसियाली विकास बैङ्क (एडीबी) को अगुवाइमा निर्माण हुने भएको छ ।
४२ मेगावाटको मोदी र १८ मेगावाटको मोदी ए जलविद्युत् आयोजना पनि विद्युत् प्राधिकरणले सहायक कम्पनीमार्फत निर्माण गर्न लागेको हो । कोरियाको के वाटर कर्पोरेशनले लगानीको सहमति गरेपनि आयोजनाबाट पछि हटेपछि विद्युत् प्राधिकरणले सहायक कम्पनीमार्फत आयोजना अघि बढाउन लागेको हो । दुवै आयोजनाको डीपीआर र बोलपत्र दस्तावेजको काम सम्पन्न भइसकेको घिसिङले जानकारी दिए ।
९९.८ मेगावाटको तामाकोसी पाँचौ आयोजनाको डीपीआर तयार भइसकेको छ । आयोजनाको सुपरीवेक्षण, सिभिल निर्माण र हाइड्रोमेकानिकल उपकरणको खरिद प्रक्रिया अघि बढेको छ ।
एसियन इन्स्फास्ट्रक्चर बैङ्क (एआईबी) ले १५ अर्ब रुपैयाँ ऋण लगानीको सम्झौता गरेको छ । सिभिल निर्माणको चरणमा जाने अवस्थमा तामाकोसी पाँचौ आयोजना पुगेको छ ।
विद्युत् प्राधिकरणले एनइए इन्जिनियरिङ कम्पनी लिमिटेड स्थापना गरेर ५ ओटा जलविद्युत्को अध्ययन गरिरहेको छ ।