काठमाडौं । गत आर्थिक वर्ष २०७५/०७६ मा नेपाल विद्युत् प्राधिकरणले विभिन्न प्रवद्र्धकसँग १ हजार ४८० मेगावाट बराबराका ८५ ओटा जलविद्युत् आयोजनको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) गरेको छ । प्राधिकरणअन्तर्गत र निजीक्षेत्रबाट प्रवद्र्धित जलविद्युत् आयोजनाकोे पीपीए भएको हो ।
जसमध्ये ४ ओटा पिकिङ रन अफ दि रिभर प्रकृति आयोजनाको पीपीए भएको छ । त्यस्तै, वैकल्पिक ऊर्जातर्फ २ ओटा बगास प्लान्ट र १० ओटा सौर्य विद्युत् आयोजनासमेतको पीपीए भएको प्राधिकरणले जनाएको छ । तीबाहेक अन्य ६९ ओटा जलविद्युत् आयोजनाको स्रोत सुनिश्चितता भएर पीपीए गरिएको प्राधिकरणले बताएको छ । निजी क्षेत्रको सहभागिता र लगानी वृद्धि गर्न तथा लगानीको अनुकूल वातावरण बनाउन पहल गरेकाले धमाधम आयोजनाको पीपीए हुन थालेको प्राधिरकणको दाबी छ ।
निजीक्षेत्रबाट २ हजार ६०० मेगावाटको आयोजनाको आर्थिक स्रोत सुनिश्चितता भइसकेकाले पीपीएको चरणमा रहेको जनाइएको छ । झन्डै २ हजार ८६९ मेगावाटका आयोजना विभिन्न चरणमा अध्ययन भई अघि बढेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले जनाएको छ ।
प्राधिरकणले नदीको बहावमा आधारित (आरओआर), अर्धजलाशय र जलाशय जलविद्युत्को विद्युत् सम्झौता ‘टेक अर पे’ मा गर्ने सीमा कायम गरेको छ । विद्युत् खरिदबिक्री सम्झौता गर्ने सीमा वृद्धि गरी आरओआर, पीआरओआर र स्टोरेज जलविद्युत् क्रमशः ५ हजार २५० मेगावाट, ४ हजार ५०० मेगावाट र ५ हजार २५० मेगावाट कायम गरेको छ । यसले जलविद्युत्मा लगानी गर्न प्रोत्साहन हुने प्राधिकरणको दाबी छ । पीआरओआर प्रकृतिका आयोजनालाई पीपीए सम्झौता गर्न प्राथमिकता दिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । सरकारको दीर्घकालीन ऊर्जा विकास लक्ष्य हासिल गर्न जलविद्युत् आयोजनामा लगानी गर्न प्राधिकरणले निजी क्षेत्र, जनताको लगानी र प्रत्यक्ष वैदेशिक लगानीका लागि सहजीकरण गर्दै आएको प्रवक्ता अधिकारीले बताए ।
गत आवमा प्राधिकरणले निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनाबाट ४८ मेगावाट र प्राधिकरणका सहायक कम्पनीमार्फत गरी कुल १३९ मेगावाट विद्युत् उत्पादन गरेको थियो । ६० मेगावाटको त्रिशूली ३ ए जलविद्युत् अयोजना र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजन पनि गत आवमै सम्पन्न भएका थिए ।
प्राधिकरणले चालू आर्थिक वर्षलाइ अधिक विद्युत् उत्पादन हुने वर्ष मानेको छ । निजीक्षेत्रको सबैभन्दा ठूलो जलविद्युत् आयोजना ४५६ मेगावाटको माथिल्लो तामाकोसी आगामी चैतसम्म सञ्चालनमा आउने र गत आवमा सम्पन्न हुन नसकेको अधिकांश आयोजना सम्पन्न हुने भएकाले पनि चालू आवमा झन्डै १ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य प्राधिकरणले लिएको छ ।